काठमाडौँ । अष्ट्रेलियाको सिड्नीबाट २१ दिनदेखि हराइरहेका काभ्रेका सुभाष बोलखेको शव सिड्नीको साङसुसी क्षेत्रको समुद्री तटमा भेटिएको छ ।
क्यानबेरास्थित नेपाली दूताबासका अनुसार बोलखेको शव भेटिएको पुष्टि प्रहरीले गरिसकेको छ । एनएसडब्लु प्रहरीले बोलखेको शव फेला परेको क्यानबेरा स्थित नेपाली राजदूतावासलाई जानकारी दिएको बताइएको छ ।
उनी घरमै मोबाइल र अन्य कागजात छाडेर बेपत्ता थिए । गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको थियो । दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएकोबारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रह गरेको थियो ।
१० महिनाअघि अष्ट्रेलिया अध्ययनका लागि गएका सुभाष निरन्तर परिवारकै सम्पर्कमा थिए । उनीसँगै बस्दै आएका एकजना साथी विवाहका लागि नेपाल आएको समयमा घटना भएका कारण उनी कसैलाई केही नभनी सम्पर्कविहीन भएका थिए ।
उनको शव नेपाल ल्याउनका लागि परिवार, नगर प्रमुख खरेल, अष्ट्रेलियामा रहेका नेपाली समूदायले पहल गरिरहेका छन् । अष्ट्रेलिया सरकारको प्रक्रिया, पोष्टमार्टमलगायतका काम सकेर नेपाल ल्याउन अझै १५ दिन लाग्ने परिवारले जनाएको छ ।