भारतमा अपहरणपछि पत्रकारको हत्या

न्युजलय २८ कार्तिक २०७८, आइतबार १०:२० मा प्रकाशित

काठमाण्डौ । भारतको बिहारका एक पत्रकारको अपहरणपछि हत्या भएको छ। 

मधुबनी जिल्लाका नर्सिङ होम तथा अस्पतालमा भइरहेका बेथितिका सम्बन्धमा रिपोर्टिङ गर्दै आएका युवा पत्रकार बुद्धिनाथ झाको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पत्रकार झाको हत्या अस्पताल सञ्चालकहरुले गराएको आरोप परिवारका सदस्यको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पक्राउ समेत गरिएको जनाएको छ। 

तर पक्राउ परेका व्यक्ति अस्पतालसँग जोडिएका हुन् वा होइनन् भन्ने खुलाइएको छैन। निजी नर्सिङ होममा भइरहेका बेथितिबारे पत्रकार झाको रिपोर्टिङकै कारण केही महिना पहिले चारवटा नर्सिङ होमलाई ५०–५० हजार जरिवाना तिराइएको थियो।

२२ वर्षका पत्रकार झा मधुबनीको बेनीपट्टी प्रखण्डको बीएनएन न्यूज बेनिपट्टीमा कार्यरत थिए। बेनीपट्टीकै स्थानीय बुद्धिनाथ झा विगत दुई वर्षदेखि पत्रकारिता गर्दै आएका थिए। उनले पछिल्लो तीन वर्षदेखि लोक शिकायत निवारण पदाधिकारीसमक्ष नर्सिङ होमसँग जोडिएका गुनासाहरु पठाउँदै आएका पनि थिए।

झा नोभेम्बर ९ मा अपहरणमा परेका थिए। उनको शव नोभेम्बर १२ मा फेला परेको हो।