इटहरी । ५४ सालको निर्वाचनमा तात्कालिन इटहरी नगरपालिकामा ९ मध्ये ८ वडामा नेकपा एमालेले जित हात पारेको थियो । नगर परिषद्का ४७ जनामध्ये ४१ जना एमालेबाट जितेका थिए । (इतिहासमा इटहरी पुस्तकबाट)
नगरप्रमुखमा एमालेका सर्वध्वज साँवाले ६८९९ मत ल्याएर विजेता बन्दा राप्रपाबाट तीन कार्यकाल इटहरी गाउँ पञ्चायतको प्रधानपञ्च चलाएका रामकुमार सुब्बा उपविजेता बनेका थिए ।
एमाले होस् या एमाले नेतृत्वको कम्युनिष्टले त्यस वरीपरी भएका विद्यालय, क्याम्पस व्यवस्थापन समिति होस् या इटहरी खानेपानीको चुनाव नै किन नहोस्, जित हात पार्दै आएको थियो । इटहरीलाई एमालेको लालकिल्ला घोषित गर्न यति घटना काफी थिए ।
५ वर्षअघि भएको स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा भने एमाले सकसमा देखियो । नेपाली काँग्रेस फुटेको त्यो समयमा इटहरीमा एमालेले मुस्किलले दुई हजार पाँच सय मतले मेयर र उपमेयर जित्यो । २० मध्ये १२ वटा वडा नेपाली काँग्रेसलाई जिम्मा लगायो । उद्योग वाणिज्य संघको चुनावमा पनि पराजय व्यहोर्यो । आफ्नै कार्यकर्ताहरुलाई समेट्न नसक्ने प्रवृत्ती अनि विपक्षी पार्टीमा आस्था राख्ने तर चलायमान मतदातामा प्रभाव पार्न सक्ने खुबी नहुनाका कारण एमालेको मत घट्दै गयो । त्यसमाथि अन्तरघात पनि एमालेको मत संख्या घटाउने एउटा कारण बन्न पुग्यो ।
उक्त निर्वाचनको पाँच वर्षपछि अर्को निर्वाचनको संघारमा एमाले फेरी समुह समुहमा विभक्त छ । यसले एकातिर अब नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा हार्ने सम्भावना मात्र बढेको छैन, बरु पार्टी थप छिन्नभिन्न हुने खतरा पनि बढेको छ ।
मेयर–पार्टी पानी बाराबार
मेयर द्वारिकलाल चौधरी र एमाले इटहरी तथा एमाले सुनसरी नेतृत्वबिचको सम्बन्ध अहिले पानी बाराबारको अवस्थामा छ ।
मेयर चौधरीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरु जस्तै शिलान्यास तथा उद्घाटनमा एमाले इटहरी अध्यक्ष याम सुब्बा र एमाले सुनसरी अध्यक्ष रेवती भण्डारी जाँदैनन् भने पार्टीको सांगठानिक प्रायःजसो कार्यक्रमहरुमा मेयर चौधरी अनुपस्थित हुने गरेका छन् । कार्यक्रमहरुमा इटहरी उपमहानगरपालिकाले औपचारिक निमन्त्रण नगरेकोले आफू जान नसकेको सुब्बा बताउँछन् । ‘औपचारिक निमन्त्रण मलाई वा म रहेको कमिटिलाई गरिएको छैन,’ उनले भने, ‘त्यसैले मन हुँदा हुँदै पनि म जान नसकेको हुँ ।’
यता मेयर चौधरी भने आफूलाई नबोलाइएका पार्टी कार्यक्रमहरुमा थाहा पाएसम्म पुग्ने गरेको जिकिर गर्छन् । ‘मेरो वार्डमा भएको कार्यक्रम, मलाई नै थाहा हुँदैन,’ उनी भन्छन्, ‘तर पनि म जान्छु, मलाई अफ्ठेरो लाग्दैन, आसनग्रहण गराइहाल्छन्, बोल्न दिइहाल्छन् ।’ उनले थपे, ‘तिमी नगरपालिकाकै विकास निर्माणलाई प्राथमिकता दिनु भनेर मलाई जिम्मा दिएको पनि होला पार्टी नेतृत्वले ।’
यस्तै यता एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीसँग पनि चौधरीको मनमुटाव छ । चौधरीले सामाजिक सञ्जाल फेसबुकमा भण्डारीलाई संकेत गरेर ‘जाली वकिल भण्डारी तिमीसँग सायद कलम मात्रै छ, म तिमीलाइ तलवार दिन्छु, मेरो हात काट, तिम्रो लागि मेरो खुट्टा काफी छ’ स्टाटस लेखेका थिए । यसबाहेक चौधरी विभिन्न कार्यक्रमहरुमार्फत् नेतृत्वको तिखो आलोचनासमेत गर्ने गर्छन् । नेतृत्वलाई खबरदारी गर्न आफूले त्यसो गरेको बताउने गरेका छन् ।
खासमा एमालेको जिल्ला अधिवेशनदेखि भण्डारी र चौधरीबिच मनमुटाव झाँगिएको हो । अधिवेशनमा भण्डारी, इनरुवाका खेमराज पोख्रेलसँगै चौधरी जिल्ला अध्यक्षमा भिडेका थिए । चुनावमा भण्डारी अत्याधिक मतका साथ विजयी भएका थिए भने चौधरीले तेस्रो स्थान हाँसिल गरेका थिए ।
भण्डारीसँग बाहेक अहिले मेयर चौधरीले अन्य नेता र पार्टी अनि संस्थाहरुसँगको सम्बन्ध भने सुधार गर्दै लगेका छन् ।
मेयर–उपमेयरको आफ्नै दाउ
इटहरी उपमहानगरपालिकाको मेयर दोहोर्याउने इच्छा राख्दै फेरी पनि चौधरीले टिकट दावी गरिरहेका छन् । उता भण्डारीले भने चौधरीलाई दोहोर्याउने इच्छा देखाएका छैनन् । उपमहानगरपालिकाको मेयर र उपमेयर उम्मेदवारको टुंगो एमालेमा जिल्ला र प्रदेश समितिको सिफारिसमा केन्द्रले टुंगो लगाउने नियम छ ।
केन्द्रिय सदस्य भएको र जिल्ला नेतृत्व पनि फेभरमा रहेकोले उपमेयर गौतमले टिकट पाउने लगभग निश्चित भएको हल्ला चलेको छ । तर मेयर चौधरी नै दोहोरिने वा चौधरीको समर्थनमा अर्को कुनै उम्मेदवारले टिकट पाउने सम्भावनाको चर्चा पनि चलेको छ ।
यता नेकपा एमाले समाजवादीका अध्यक्ष र नेताहरुलाई ल्याएर शिलान्यास गराएका मेयर चौधरीको संशयपूर्ण गतिविधिकै कारण पनि उनी केन्द्रिय सदस्य नबनेको आँकलन गरिएको छ । पछि उनलाई पनि त्यो अनुभव भएपछि भने नेकपा एसका नेताहरु छाडेर इश्वर पोख्रेल र भीम आचार्य लगायतलाई सहभागि गराएर उद्घाटन र शिलान्यास गराएका थिए ।
यसैबिच मेयर र उपमेयरबिच सम्बन्ध चिसिएको छ । केही दिनअघि काठमाडौ पुगेकी उपमेयर गौतम चढेको उपमहानगरपालिकाको गाडी मेयर चौधरीले फर्काएका थिए । चौधरीले उपमहानगरपालिकाको सार्वजनिक सम्पत्ती दुरुपयोग रोकेको दावी गरेका छन् भने उता गौतमले आफूलाई मेयरले पटक पटक गाडी फिर्ता गराएर अलपत्र पार्ने गरेको गुनासो गर्ने गरेकी छिन् । यस्तै अन्य समयमा पनि योजना निर्माणदेखि कार्यान्वयनसम्म पनि मेयरले उपेक्षा गरेको बताउँदै आएकी छिन् ।
मेयर चौधरीले भने उपमेयर गौतमसँगको विवाद सामान्य भएको बताउने गरेका छन् । ‘एउटै परिवारमा रहेपछि कहिलेकाहिँ त्यस्तै हो,’ उनले भने ।
चौलागाईको युटर्न
केही महिनाअघिसम्म पानी बाराबार गरेका मेयर चौधरी र एमाले नेता रामप्रसाद चौलागाईबिच सम्बन्ध सुध्रिएको छ । कुनै समय चौलागाईको लगातार तिखो आलोचना गर्ने मेयर चौधरी अहिले चौलागाईसँग नरम भएका छन् ।
इटहरी खानेपानीको निर्वाचनबाट दुई पटकसम्म अध्यक्षमा अत्याधिक मतले निर्वाचित चौलागाई इटहरीमा मेयरको टिकटका अर्का प्रबल दाबेदार मानिन्छन् । अघिल्लो पटक पनि उनी जिल्लाबाट सिफारिसमा परेका थिए । तर सबैको अनुरोधमा आफू ब्याक भएको र यो पटक पार्टीले आफ्नो व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन् । यो पटक चौलागाई वा चौधरी दुवैमध्ये कोही एक उम्मेदवार भए एकले अर्कालाई सघाउने अवस्था बनाउन दुवैजना मिलेको चर्चा पनि चलेको छ ।
चौलागाईले न्युजलयसँग कुरा गर्दै चौधरीसँगको सम्बन्ध बिगार्न पार्टीभित्रैबाट केही नेताले भूमिका खेलेको र अहिले आफूहरु मिलेपछि उनीहरु नै बढी छट्पटाएको आरोप लगाएका छन् । चौधरी र चौलागाई दुवैलाई विवादमा मुछेर आफू अघि बढ्ने सोँच राख्नेहरु अहिले हतास बनेको उनको टिप्पणी छ ।
आन्तरिक संगठन सुदृढमै व्यस्त सुब्बा
मेयरको टिकटको अर्का दाबेदार एमाले इटहरी अध्यक्ष याम सुब्बालाई युवासंघका एउटा समुहको राम्रो साथ रहेको छ । त्यसैले सुब्बालाई उपेक्षा गर्दा समग्र युवासंघले साथ नदिने हो कि भन्ने चिन्ता अन्य नेताहरुलाई छ । त्यसो त सुब्बा नगरका चुनावी प्रचारात्मक गतिविधिमा भन्दा पार्टीको आन्तरिक संगठनात्मक कार्यमै बढी व्यस्त छन् । पार्टीसम्बद्ध सबै संगठनहरुको पुनर्गठन र संगठन विस्तारमा उनले ध्यान दिइरहेका छन् । पार्टीभन्दा बाहिर उनले आफूलाई चिनाउन सकेका छैनन् । उनलाई प्रदेश सांसद सर्वध्वज साँवालेसमेत सहयोग गरिरहेको बताइन्छ । अर्का प्रदेश सांसद लिलम बस्नेत भने चौधरीसँग नजिक छन् ।
फेसबुक सर्वेक्षणमा चौधरीको अग्रता
नेकपा एमालेबाट इटहरीको मेयरको टिकट कसले पाउँदा उपयुक्त होला भनेर इटहरी अल न्युज नामक फेसबुक ग्रुपमा हालै गरिएको एक अनलाइन सर्वेक्षणले अरु नै कोही खोजौं भन्ने अप्सनमा अत्याधिक मत देखाएको थियो । उक्त सर्वेका अन्य अप्सनहरुमा मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, रामप्रसाद चौलागाई र याम सुब्बा छन् । सबैभन्दा बढी भोट चौधरीले पाएका छन् । दोस्रो भोट गौतमले र तेस्रो चौलागाईले पाएका छन् ।
अन्तर्घातको डर
आफूले टिकट नपाए टिकट पाउने अन्य उम्मेदवारलाई असहयोग गर्ने रणनीतिमा नेताहरु छन् । एउटै मानिस घुमिफीरी लाभको पदमा बस्न नहुने तर्क चौधरी, गौतम र भण्डारीबाहेकका नेताको छ । तर कि त दोहोर्याउने वा माथिल्लो तहमा नेतृत्वको अवसर पाउनुपर्ने तर्क चौधरी र गौतमको छ । गौतम उपमेयरमा नदोहोर्याउने तर मेयरमा दाबी गर्ने बताउँछिन् भने चौधरीले जसरी पनि मेयर दोहोर्याउने इच्छा गरेका छन् ।
एमालेमा उपमहानगरपालिकाको उम्मेदवारको टुंगो जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रले लगाउने नियम छ । एमाले अध्यक्ष केपी ओलीले राम्रो काम गर्ने जनप्रतिनिधिलाई प्राथमिकता दिने बताउँदै आएका छन् । तर इटहरीवासीले भने इटहरीका मेयर उपमेयरको कार्यसम्पादनबारे मिश्रित प्रतिक्रिया दिँदै आएका छन् ।
कसले टिकट पाउने हो भन्ने चर्चा उम्मेदवारको अन्तीम टुंगो नलागुन्जेल चलि नै रहनेछ । तर त्यसबिचमा आकांक्षीहरु कति अनुशासित र उदार रहन्छन्, त्यसले नै उनीहरुको जित र हार तय गर्नेछ । किनकी एकले अर्कोलाई निषेध वा उपेक्षा गरेर वा अर्को आकांक्षीको चित्त नबुझाइ एमालेको कुनैपनि उम्मेदवारले चुनाव जित्ने अवस्था छै्न । किनकी अघिल्लो पटक पनि अन्तरघात भएकैले नेपाली काँग्रेससँगको मतान्तर घटेको थियो ।
हुन त विभाजनका रेखाहरु नेपाली काँग्रेसमा झन् स्पष्ट छ । तर पनि एमाले विभाजन हुने र काँग्रेस एक हुने कार्य एकै समयमा भयो भने एमालेको लालकिल्ला धरानमा जस्तै ध्वस्त हुने सम्भावना देखिन्छ । अन्तरघात र आन्तरिक प्रतिष्पर्धा बाहेक पनि नेकपा एसको कारण इटहरी एमालेमा कम्तिमा ५ प्रतिशत क्षती पुगेको छ । उता नेपाली काँग्रेस र लोकतान्त्रिक फोरम एक भएका छन् । अघिल्लो निर्वाचनको मत परिणामलाई आजको अवस्थासँग तुलना गर्ने हो भने नेपाली काँग्रेसलाई हराउन सजिलो देखिँदैन । त्यसमाथि स्थानीय नेतृत्वकै हानाथापका कारण पार्टीलाई थप चुनौति छ ।
त्यसैले नेतृत्वलाई मिलेर अघि बढ्न कार्यकर्ताहरुले जोड दिएका छन् । इटहरीका युवा नेता रुपेश बस्नेत लेख्छन्, ‘टुट, फुट र विभाजनले उपलब्धि हाँसिल हुँदैन, इटहरीका तमाम पार्टी कार्यकर्ताहरु को आवाज यहि हो । व्यक्ति गौण हो, पार्टी सर्वोपरी ।’