तिहारको तेस्रो दिनः आज गाईपूजा

न्युजलय २४ कार्तिक २०८३, सोमबार ०६:०१ मा प्रकाशित

काठमाडौं । तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ ।

हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि गाईको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष मानिन्छ ।

धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खुवाउँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ ।

धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी तारेर स्वर्ग पुर्‍याउने मान्यता रहिआएको छ ।