उपमहानगरपालिकाको शिलान्यास र उद्घाटनमा किन आउँदैनन् एमाले इटहरी अध्यक्ष सुब्बा ?

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०२:२१ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले यतिखेर विभिन्न विकास आयोजनाहरुको शिलान्यास तथा उद्घाटन कार्यक्रमहरु धमाधम गरिरहेको छ । मेयर द्वारिकलाल चौधरी आफैले कुन दिन के उद्घाटन वा शिलान्यास हुन्छ भनेर लिस्ट नै सार्वजनिक गरिसकेका छन् । तर ती कार्यक्रमहरुमा एमाले इटहरी नगर अध्यक्ष याम सुब्बा उपस्थित छैनन् । 


जुन पार्टीबाट चौधरी मेयर बनेका हुन्, त्यही पार्टीका नगर अध्यक्ष ती कार्यक्रमहरुमा नहुँदा अनेकन अड्कलबाजी हुन थालेको छ । भावि मेयरको टिकटका लागि एमालेबाट सम्भावित आधा दर्जन नेतामध्येका एक मानिएका सुब्बा ती कार्यक्रमहरुमा सहभागि नहुनुको कारण उनले खोलेका छन् । उनले आफू तथा आफ्नो पार्टीलाई ती कार्यक्रमहरुमा नबोलाइएको स्पष्ट पारेका छन् । 


उनले आफूले उपमहानगरपालिकाको कार्यक्रमहरु नगरवासीको हैसियतले मात्रै देखिराखेको बताउँदै निमन्त्रणा नगरिएकोले कार्यक्रममा सहभागि नभएको बताएका छन् । ‘विकास आयोजनाहरु धमाधम सुरु हुने र सम्पन्न हुने कार्यबाट म खुसी छु,’ उनले भने, ‘तर म वा पार्टीलाई आधिकारिक निम्तो नआएकोले मेरो उपस्थिती नभएको हो ।’