काठमाडौँ । नेप्से बुधबार (आज) पनि बढेको छ । यससँगै, नेप्सेको वृद्धि यात्रा निरन्तर सातौँ दिनसम्म कायम रहन सफल भएको छ । जेठ २ गतेदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक आजसम्म निरन्तर कायम रहेको हो ।
आज नेप्सेमा १६.४९ अंकको वृद्धि आएसँगै ७ दिनको अवधिमा १४०.८२ अंकको वृद्धि भएको छ । यो विगत लामो समययताको सबैभन्दा उत्कृष्ट वृद्धि हो ।
आज १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ । यस क्रममा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता १५०३ रुपैयाँमा पुगेको छ ।
आज १ अर्ब ८७ करोड रुपैयाँ बराबरको ४८ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा धेरै शिवम सिमेन्टको १४ करोड ६४ लाखको सेयर कारोबार भएको छ । परिसूचक बढे पनि आज तीन समूहमा भने गिरावट देखिएको छ ।