२०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल खोटेहाङ ८ मा मेरो जन्म भएको हो । मेरो बुवाको नाम वर्तमान विश्वकर्मा र आमाको नाम मैयाँ विश्वकर्मा हो । वुवा अहिले हुनुहुन्न । आमा ८२ वर्षकी हुनुभो ।
हामी ७ जना दाजुभाइमा म अन्तरे हुँ । जेठो र ठाइलो बिते । हाल पाँच जना छौँ । मैले मात्र २०५० मा गाउँबाट एसएलसी दिएर पढ्नको निम्ति तराइ झरेँ । म कक्षामा फर्स्ट विद्यार्थी थिएँ ।
फर्स्टले त्यति बेला धरानको हात्तिसार क्याम्पसमा फुड टेक्नोलोजी पढ्ने वा धनकुटामा एजुकेसन पढ्ने चलन थियो । वा पढ्न पाउँथ्यो । मैले हात्तीसारको इन्ट्रासमा १३ नम्बरमा नाम निकालेँ । एड्मिसन गर्ने बेलामा २७ सय रुपैया नपुग्दा ज्योती नाम गरेको लेखापालले 'आज अन्तिम भर्ना म्याद हो । म सक्दिनँ' भनेर बेवास्ता गर्याे । त्यो बेला त्यहाँ कसैसँग चिनजान थिएन । मेरो त्यो पढ्ने अवसर तुहयो ।
त्यसपछि इटहरीमा आमाको मामा टिकाराम गजमेरको घर गए । खान बस्न ठाउँ पाएपछि जनता क्याम्पसमा भर्ना भएँ । इटहरीमा ब्लास्ट दैनिक पत्रिकामा काम थालेँ । सुरु सुरुमा गाडी गाडीमा राखेर पत्रिका बेचेँ । अनि पछि मार्केटिङ गर्दै न्युज लेख्न सिकेँ ।
ब्लाष्टको हेड अफिस धरान पुगेर भेट गरेकै दिन २०५३ पुस २३ गते सम्पादक किशोर कार्कीले मलाइ नियुक्ती दिनु भएको हो । किनकि मैले बिराटनगर मोति दुगड भन्ने हाल एमाले नेता तथा पुर्वमन्त्री र सांसदले निकाल्ने विराट नेशनल टाइम्स नामक पत्रिकामा तीन महिना काम सिकेको अनुभव र आइडी कार्ड देखाएको थिएँ । प्रधान सम्पादक राजकुमार कार्कीले सजिलै सिकाउनु भयो ।
सुरु सुरुमा राजकुमार दाइको इटहरी ३ स्थित बौका झोडामा रहेको घरमै बसेर दैनिक ५ किलोमिटर धुले बाटोमा इटहरी चोकसम्म हिडेरै ब्लास्ट दैनिक बेचेँ । यसरी मार्केटिङ र रिपोर्टिङ गर्दा १२ वर्ष बित्यो । माओवादी जनयुद्द हुँदा न्युजहरु रात बिरात संकलन गर्दा राम्रो सुताइ वा निद्रा पुगेन । खानेकुराको ब्यालेन्स मिलेन । स्वास्थ्य ख्याल नगरी रात दिन जोखिम मोलेर भ्रष्टाचारी, दलाल, विभेदी, शोषक, सामन्त, जाली फटाहविरुद्ध न्युज लेखेँ ।
'न्युज न लेख्नु हजुर पैसा लिनु,' भन्दै हातमा बिटाका बिटा पैसा लिएर आउने त्यतीबेलाका राष्ट्रिय वाणिज्य बैंकका एक जना प्रबन्धकलाई उल्टै फोटो खिचेर भोलिपल्ट पत्रिकामा छापिदिएँ । नापी शाखा इनरुवाका अर्का एक हाकिमले पनि त्यसै गरे । तर मैले पैसा लिइनँ ।
नेपालमा इटहरी नगरपालिकालगायत धेरै संघसंस्थाले सम्मान गरेका छन् । ब्लास्टमा पत्रकारिता गर्दा भ्रष्टाचारी, शोषक र विभेदीलाई नङ्याएर सत्य तथ्य बाहिर ल्याउँदा रिसले चुर भएका ब्युरोक्र्याट्स कर्मचारीको टिम र भ्रष्ट प्रहरीको टिमले संकटकाल लागेको बेला माओवादी आतङ्ककारीको आरोप लगाइ पत्रिकासहित अफिसबाटै पक्रेर लगे । १३४ दिनसम्म हात खुट्टा बाँधेर राखे ।
आँखामा कालो पट्टि बाँधिएको थियो । रात कस्तो, दिन कस्तो, हावा पानी घाम देख्न पाइनँ । चिसो पानीमा डुबाए । कुटे । यातना दिए । माओवादी चिना भने । आर्मी, शशस्त्र, जनपथ दुवै मिलेर अनुसन्धानको नाममा राती राती नाङ्गै हिरासतबाट थुतेर विभिन्न ब्यारेक, चौकी लगे । भाग् भने । तर भागिनँ । थुप्रै यातना खपेर बाँचे ।
टाइम्स र कान्तिपुर पत्रिकामा २०५९ साल बैसाख ७ गते खगेन्द्र सङ्ग्रौलाले भित्री पृष्ठ पुरै ढाकिने गरी मेरो बारे सरकारविरुद्ध दन्काएर लेखेपछि म छुटे । मानव अधिकारवादी एमेनेष्टी इन्टरनेशनलको लन्डनबाट पनि मलाई सपोर्ट पत्र आयो । पत्रकार महासङ्घ सबै लागेर संघर्ष गरेपछि म निस्किएँ । त्यसपछि पनि २०६३ सालमा इटहरीका दुई सय जना जग्गा दलालहरुको नाम छापेर न्युज लेख्दा त्यसमा परेका मानिसहरुले मेरो अफिस फुटाए । घर घेरे । मार्न खोजे । अफिस लुटेर १० लाख बराबरको नोक्सान गरे । आगो लगाए । म भागेर काठमान्डौ पुगेर ज्यान जोगाएँ ।
मैले मुद्दा हालेँ, जिते । तर सरकारले अहिलेसम्म सिडिओले दिनु भनेको क्षतीपुर्ती दिएको छैन । एक खेप १८ हजार लिन आउनु भनेर पत्र आएको थियो । मैले ‘त्यति थोरै रकम चाहिएन, मेरो पुरै १० लाख चाहिन्छ’ भनेर पत्रै फिर्ता गरे । त्यो प्रमाण छ ।
मेरोविरुद्ध थुप्रै झुटा मुद्धा हालेर फँसाउने, दुःख दिने अझै छन् । म एक्लै मुद्धा लड्दै छु । जातिय विभेदका बढी मुद्धा छन् । राज्यको निकाय प्रेस काउन्सिल नेपालले मेरो पत्रिका गणराज्यलाई ख वर्गको सुविधा दिएको छ ।
कोरोना महामारी पछि दैनिकलाई साप्ताहिक पारेको छु । प्रेस काउन्सिलले प्रती महिना २२ हजार रुपैया दिन्छ । मलाई बुझेका व्यावसायी वा सरकारी अनि निजि कम्पनीका सिमित मित्रहरुले विज्ञापन दिन्छन् । जसका कारण पत्रिका निस्की रहेको छ ।
२०६० देखि मलाई सुगरले भेट्यो । यस्तै ७० सालदेखि प्रेसरले समात्यो । सुगर र प्रेसरको दबाई खाँदा मेरो किड्नी बिग्रिएछ । दुवै किड्नी फेल भएछ ।
त्यसयता उपचारको क्रममा मैले मेरो सम्पत्ती लगभग सकेँ बसोबास रहेको इटहरीको १० धुरको घडेरी र घर कौडिको भाउमा बेचेँ । हाल किड्नी दान दिनका लागि मेरो साइलो दाजु तिलकबहादुर बिक तयार हुनु भएको छ । किड्नी म्याच भैसकेको छ । तर किड्नी पाएर मात्र नहुने, थुप्रै पैसा पनि चाहिनेरहेछ ।
विकृती विसङ्गतिका अनेकौँ मुद्दाहरुमा मैले अगाडि बढेर गरिब, दलित, निमुखा, किसान, मजदुरहरुको निम्ति लेखेँ, बोलेँ । तर आज म बिरामी हुँदा आफै असहाय बनिरहेको छु । नेपाल सरकारले हामी जस्तो मोफसलमा संघर्षरत सञ्चारकर्मीलाई त्यति हेरेको छैन । भारतले भने डा. भिमराव अम्वेडकर फेलोसिप सम्मान २००७ बाट नेपालमा गरिबदुखी दलिंत समुदायको मुद्दा उठाउने राम्रो पत्रकार भनेर दिल्लीमा बोलाएर सम्मान गरेको थियो ।
यतिखेर आफ्नै उपचार गर्नको लागि आर्थिक समस्या छ । साथीभाइहरुले पिबी दियाली बचाउ अभियान भनेर सार्वजनिक अपिल गर्नुभएको छ । तर खासै रकम जम्मा भएको छैन । तथापी जतिले सहयोग गर्नुभएको छ, वहाँहरुप्रति हार्दिक आभार प्रकट गर्दछु र तपाइहरुको सानो भएपनि सहयोगको अपेक्षा गर्दछु ।
सहयोग गर्न चाहनेका लागि खाता नम्बर :-
Prem Bahadur Diyali
0150096818900011
Machhapuchhre bank