दमकमा लागूऔषध बिक्री गर्ने चार जना पक्राउ

न्युजलय २ जेठ २०८१, बुधबार १२:२५ मा प्रकाशित

दमक । झापाको दमकमा एक सामुदायिक विद्यालय नजिकै चार जना लागूऔषध कारोबारिहरु पक्राउ परेका छन् । 

मङ्गलवार राती दमक –२ स्थित हिमालय माध्यमिक विद्यालय नजिकै बाटोमा लागूऔषध ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

लागूऔषध बिक्री गरिरहेको भन्ने विशेष सूचना आधारमा प्रहरी टोली पुगेर खानतलासी गर्दा दमक –२ बस्ने ४३ वर्षीय नेत्र थापा, सोही ठाउँका २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक –५ का २६ वर्षीय प्रकाश लिम्बूको साथबाट स–सानो प्लास्टिकको पोकामा ३० पोका ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । 

पोकाहरु डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर रहेको पनि प्रहरीले जनाएको छ । चारै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।