तीन दिन बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट

न्युजलय १० पुस २०८०, मङ्गलबार १२:४१ मा प्रकाशित

काठमाडौं । सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको पाइएको छ। 

कमलामाई नगरपालिका–४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार ढकाल गाउँकी शारदा थापामाथि कुटपिट भएको हो। उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको थियो। 

उक्त खबर पाएपछि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सिलवाल नेतृत्वको टोली खटिएको थियो।

उनी घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो। गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए। 

आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको हो। उद्धार गरेपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ। प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामै फेला परेको बताइएको छ ।

निलडामहरू भएको उनले बताए। अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको पनि एसपी सिलवालले बताए। 

यस घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ।