तीन दिनदेखि हराइरहेका शर्माको शव बिरिङ खोलामा फेला

न्युजलय १६ कार्तिक २०८२, शनिवार १२:५१ मा प्रकाशित

झापा । शिवसताक्षी नगरपालिका–१० माइधारका सरोज शर्माको शव बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा फेला परेको छ । शनिबार बिहान बिरिङ खोलाको पुलमुनी शर्माको शव फेला परेको हो । 

दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। दुर्गन्ध फैलिएको ठाउँमा खोजतलास गर्दा बालुवामा गाडेको शव भेटिएको र उक्त शव शर्माको भएको प्रहरीले जनाएको छ । 

शर्माको खोजी क्रममा प्रहरीले गत बिहीबार चारआली जंगल क्षेत्रमा जलेको अवस्थामा कार बरामद गरेको थियो । सोही गाडी शर्मा परिवारकै भएको पत्ता लागेपछि प्रहरीले अनुसन्धानलाई तीव्र पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उक्त घटनामा संलग्न भएको आशंकामा शिवसताक्षी–१० माईधार का २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाहलाई पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत दुस्मनीका कारण हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पठाएको छ ।