१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिन नेपालमै तयार

न्युजलय ८ माघ २०७९, आइतबार ०८:१० मा प्रकाशित

काठमाडौँ । नेपाली सिक्का छाप्नको लागि टक्सार विभागले मेसिन तयार पारेको छ ।

राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले पुराना मेसिनलाई मर्मत सम्भार गरी सिक्का छाप्न सक्ने अवस्थामा पुर्‍याएको हो । विभागले परीक्षणका रुपमा चलनचल्तीको नमुना सिक्का छाप्न थालिसकेको छ ।

करिब दुई दशकपछि टक्सारले नेपालमै परीक्षणका रुपमा सिक्का छाप्न थालेको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ ।

नेपालमा दुई दशक अघिसम्म राष्ट्र बैंकले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का बनाउँदै आएको थियो । पछि राष्ट्र बैंकले चलनचल्तीका सिक्का बनाउन छोड्यो । त्यसपछि चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थाल्यो ।

अहिले पुराना मेसिनलाई मर्मत सम्भार गरेर चलनचल्तीका सिक्का छाप्न मिल्ने गरी बनाएर तयारी अवस्थामा पुर्‍याइएको र परीक्षणका रुपमा केही थान सिक्का छपाइ गरिएको बताइएको छ । 

केही वर्षयता नेपालले एक र दुई रुपैयाँका कागजी नोट छाप्न छोडेको छ । ती दरका रुपैयाँको सिक्का मात्र छाप्दै आएको छ । ती सिक्का विदेशमै छापिँदै आएको छ ।

राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिएको सिक्का अरु कागजी नोट जस्तो सम्पूर्ण रुपमा वित्तीय प्रणालीमा फर्किँदैन । यसकारण पनि हरेक वर्ष नयाँ सिक्का छाप्न करोडौं रुपैयाँ खर्च हुने तर त्यो पैसा वित्तीय प्रणालीमा नफर्किने भएकाले बढी खर्चिलो भएको जानकार बताउँछन् ।