‘काव्य डबली’को चौथो श्रृङ्खलामा १५ कविका कविता

न्युजलय १८ असोज २०८३, आइतबार १२:५० मा प्रकाशित

इटहरी । इटहरीमा आयोजित ‘काव्य डबली’को चौथो श्रृङ्खलामा १५ जना कविले आफ्ना कविता प्रस्तुत गरेका छन्। शनिबार कोसी कलेजको सभाहलमा आयोजित कार्यक्रममा कविहरूले प्रेम, जीवन, समाज, समय, स्मृति र मानवीय संवेदनासँग सम्बन्धित कविता वाचन गरेका हुन्।


कार्यक्रममा सीमा आभासले ‘प्रार्थना’, गगन योक्पाङ्देनले ‘पानीको जीवन’, करुणा राईले ‘सपथ’, प्रकाश दिप्साली राईले ‘डोजर’ र प्रदीप योङहाङले ‘भस्मासुर’ कविता प्रस्तुत गरे।


त्यस्तै, दीपा दाहालले ‘चुरोट र प्रेम’, प्रयाग न्यौपानेले ‘अन्पी मुसहरको माटो’, प्रज्ज्वल पराजुलीले ‘यादहरूको गन्तव्य’, मीना श्रेष्ठले ‘अनवरत युद्ध’ र रामप्रसाद खरेलले ‘बा’ शीर्षकका कविता सुनाए।


चन्द्र गुरुङले ‘चुपचाप बगिरहेको त्रिशूली’, देवान किरातीले ‘मृत्युको गुलाफ’, पुष्पा बोगटीले ‘प्रश्नहरूको घेरा’, मनु मञ्जिलले ‘दसैँ’ र विवश पोखरेलले ‘बग्दै बग्दै जाने छोरासँग’ शीर्षकका कविता प्रस्तुत गरे।


कार्यक्रममा प्रस्तुत कवितामार्फत कविहरूले व्यक्तिगत अनुभूति, सामाजिक यथार्थ, प्रेम, पीडा, स्मृति र समसामयिक विषयलाई अभिव्यक्त गरेका थिए। विविध विषय र शैलीमा प्रस्तुत कविताले कार्यक्रममा सहभागी साहित्यप्रेमीलाई भावनात्मक रूपमा जोडेको थियो।


नाट्यकर्मी सोनु जयन्तीले सहजीकरण गरेको कार्यक्रममा साहित्यप्रेमी तथा स्थानीयको उल्लेखनीय सहभागिता थियो।


इटहरीमा साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले ‘काव्य डबली’ प्रत्येक दुई महिनामा आयोजना हुँदै आएको आयोजकले जनाएको छ।