इटहरी । इटहरीका कलाकार, निर्देशक प्रकाश सुब्बा कला क्षेत्रको लागि पुरानै नाम हो । ५७ सालमा एपिवन टेलिभिजनमा भुषण दाहालको निर्देशनमा बनेको ‘कन्तबिजोग’ टेलिफिल्मबाट अभिनय यात्रा सुरु गरेका सुब्बाले त्यसपछि कान्तिपुर टेलिभिजनबाट केही टेलिफिल्महरुमा खेले अनि केहीको निर्देशन गरे ।
५९ सालमा प्रकाश ओझा, शिशिर योगीलगायत साथीहरुसँग मिलेर कान्तिपुरबाट तितेकरेली नामक टेलिश्रृंखलाको १०२ भाग प्रशारण गरे, त्यसपछि गोर्खेलौरी, शंख चक्रमा पनि अभिनय र छाँयाकारको भुमिका सुब्बाले निभाए । त्यसपछि उनको आफ्नै लेखन तथा निर्देशनमा इर्कीनी मिर्किनीको ३२ भाग बनाएर प्रशारण गरे । यी टेलिफिल्महरु इटहरी र आसपासका स्थानमा छाँयाकन गरिएका थिए । मोफसलमा टेलिफिल्म बनाएर राष्ट्रिय टेलिभिजनबाट प्रशारण गर्नु चानचुने कुरा थिएन ।
टेलिफिल्ममा लेखन, निर्देशन, छाँयाकारको भुमिका निभाएर मिराज, त्रास लगायत फिल्महरुमा समेत अभिनय र निर्देशन गरेका सुब्बा २०७५ सालपछि भने खासै कतै देखिएनन् । त्यसपछि भने अभिनय, लेखनलाई खार्न लागिपरेको बताए ।
उनकै शब्दमा भन्ने हो भने उनी त्यतीखेर फिल्म सिकिरहेका थिए । ‘हामीले गरिरहेको काम पुरानो शैलीको भयो, हामीले बनाएका फिल्महरु प्राविधिक र खासगरी कथाको हिसाबले पुरानो शैलीको भयो,’ उनले भने, ‘कथावस्तुदेखि प्रविधि अनि तरिकामा समयानुकुल परिवर्तन गर्नुपर्छ भनेर म फिल्म सिक्न विदेश गएको थिएँ भने यहीँ पनि अध्ययन गरिरहेको थिएँ ।’
हालै सुब्बाले द अनटोल्ड स्टोरी नामक ९ मिनेटको छोटो फिल्म सार्वजनिक गरे । अघिपछि अभिनय र निर्देशनमा जमेका सुब्बाले यो सर्ट मुभीका लागि भने कथा लेखनको काम गरेका थिए । निर्देशनको काम नेपाली चलचित्रका नायक आयुब केसीले गरेका हुन् । उनले कथा लेखन राम्रो भयो भने फिल्म राम्रो हुने बताउँदै अबको यात्रा लेखनसँगै अघि बढ्ने बताए ।
यो सर्ट मुभीलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लाने तरिकाले निर्माण गरिएको उनले बताए । ‘विदेशले हाम्रो नेपाली संस्कृति, भुगोल, वातावरणको कथाहरु खोजिरहेको छ,’ उनले भने, ‘त्यसैको लागि हामीले नेपाली समाजको रुढीवादी र अन्धविश्वासको एउटा छोटो कथालाई फिल्ममा उतारेका हौं ।’
वरिष्ठ रङ्गकर्मी, चित्रकार तथा मूर्तिकार विक्रम श्रीको प्रमुख आतिथ्य र कोशी प्रदेशका कलाकर्मी तथा पत्रकारहरूको उपस्थितिमा प्रेस शो मार्फत् उक्त फिल्म सार्वजनिक गरिएको थियो ।
फिल्ममा प्रेम सुब्बा, चन्दा ढुङ्गाना, केशव रायमाझी, कल्पना पाण्डे, आयुब केसी, ममता पौडेल, आइपी भट्टराई, बन्दना चौधरी, नारायण ल्वागुन आदि कलाकारहरूको पनि अभिनय रहेको छ । कोशी भिजन फिल्मस् प्रालि इटहरीमा पोस्ट प्रोडक्सन भएको सर्ट फिल्मलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।
थप केही सर्ट मुभी र फिल्मको तयारीमा आफू रहेको उनले जानकारी दिए । ‘एक वर्षको लागि व्यस्त हुने कामहरु छन्,’ उनी भन्छन्, ‘अब निर्माण हुने सबै फिल्महरुको कथावस्तु र प्रस्तुतीमा दर्शकले नयाँ स्वाद पाउनेछन् ।’