इटहरी । इटहरीमा एक व्यक्तिले आफ्नै नाबालिका भतिजीको ब्लेडले चिरेर हत्या गरेका छन् । शनिबार इटहरी ५ बस्ने शालिग्राम लुईटेलले डेढ वर्षिया भतिजीको हत्या गरेका हुन् ।
स्थानीय मनहरी ढकालको घरमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय लुइँटेलको साथबाट बालिकाको शव र ब्लेड बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । भतिजी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गेको इटहरी प्रहरीले जनाएको छ ।
सालिग्राम केही वर्षअघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको मानसिक रोगी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मृतकका बुबा नवराज लुइँटेल वैदेशिक रोजगारीमा छन् । परिवारमा भने बुबाआमा र नाबालिकाकी आमा छन् ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाबारे थप अनुसन्धान सुरू गरिएको इटहरी प्रहरीले जनाएको छ ।