ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

न्युजलय ५ असार २०८१, बुधबार ०२:२१ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् ।

एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन् भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए ।

बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताए ।

पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका बढिरहेका प्रजिअ आचार्यले बताए ।

उनका अनुसार पहिरोमा परेर फक्ताङलुङ–२ का एकै परिवारका चारजनाको मृत्यु भएको थियो भने पाँचथर फिदिमका एकजनाको सिरीजङ्घामा मृत्यु भएको थियो ।

पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ । 

सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् ।