उवासंघले रोक्न खोजेको जुत्ता मेलालाई उपमहानगरको साथ, प्रवक्ताले भने, ‘१० दिन होइन, १० वर्ष लगाउनुस्’

न्युजलय १३ फाल्गुण २०८०, आइतबार ०९:४२ मा प्रकाशित

इटहरी । उद्योग वाणिज्य संघ इटहरीले रोक्न खोजेको जुत्ता मेलालाई इटहरी उपमहानगरपालिकाले साथ दिएको छ । 


स्थानीय व्यवशायीको विरोधका कारण उद्घाटन कार्यक्रम रोकिएको मेलाको आइतबार इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलले उद्घाटन गरेका छन् । 


१० दिन मात्र सञ्चालन गर्न पाउने गरी उवासंघ इटहरीसँग सहमती गरेको मेलाको उद्घाटनपछि बोल्दै पोख्रेलले मेला १० दिन नभई १० वर्ष सञ्चालन गर्न अनुमति दिने घोषणा गरे । 


उवासंघले व्यवसायीसँगै उपभोक्ताको माग र मार्का बुझ्नुपर्नेमा जोड दिँदै सीमित व्यापारीको कुरा सुनेर मेला, महोत्सव स्थगित गराउनु दुःखद् रहेको बताए । 


उनले पछिल्लो समय उवासंघ केही सीमित व्यापारीको मात्र भएको आरोप पनि लगाए । त्यस्तै उवासंघ इटहरीकै सदस्य उमेश दाहालले स्वदेशमै उत्पादन भएका जुत्ता चप्पलको मेला आफ्नो सहरमा लाग्नु गौरवको कुरा भएको बताए । 


कार्यक्रममा होटल तथा पर्यटन व्यवसाय संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले समेत सफलताको शुभकामना दिएका थिए । 


गत ११ गतेदेखि सुरु भएको मेलाले तीन दिनमा १५ लाख रुपैयाको कारोबार गरेको प्रथम इटहरी जुत्ता चप्पल महोत्सव आयोजक कमिटीका अध्यक्ष नानीराज घिमिरेले बताए । 


नेपालमै उत्पादन भएका स्वदेशी ब्रान्डका जुत्ता चप्पल सर्वसुलभ मूल्यमा पाइने भएपछि महोत्सवमा स्थानीय उपभोक्ताहरूको घुइँचो लागेको छ । मेलामा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका जुत्ता चप्पल राखिएको छ ।