कीर्तिमानी खेलाडी आलम स्पट फिक्सिङमा रहेको प्रमाण भेटिएको दावी

न्युजलय १० माघ २०७९, मङ्गलबार ०२:२४ मा प्रकाशित

काठमाडौं । कीर्तिमानी नेपाली क्रिकेट खेलाडी महबुब आलम नेपाल टी २० लिग क्रिकेटमा स्पट फिक्सिङ विवादमा तानिएका छन् ।

सीआईबीद्वारा डीएसपीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले आशंका गरिएका व्यक्तिहरुका मोबाइलहरु नियन्त्रणमा लिएर परीक्षणका लागि पठाइएको थियो । मोबाइलको परीक्षणमा स्पट फिक्सिङका प्रशस्त प्रमाणहरु भेटिएको छानबिन समितिको दाबी छ ।

‘आलमले गरेका कुराकानीहरु भेटिएको छ । जसमा फिक्सिङका लागि प्रोभोक गरिएको छ’, छानबिन समितिका अधिकारी भन्छन् ।

उनै आलमलाई सीआईबीले पक्राउ गरेको छ । आलममाथि हुने अनुसन्धानले अन्य तथ्यहरु पनि खुल्ने अधिकारीहरु बताउँछन् ।

आलम विश्व कीर्तिमानी क्रिकेटर हुन् । एकदिवसीय स्वरुपको सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिताको एकै खेलमा १० विकेट लिने कीर्तिमान आलमको नाममा छ । सन् २००८ मा उनले मोजाम्बिकविरुद्ध उक्त सफलता हात पारेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएका थिए ।