कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य पुनः बढ्यो

न्युजलय १० भदौ २०७९, शुक्रबार ०१:०३ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढेर सय डलर प्रतिब्यारेलभन्दा माथि पुगेको छ । बिहीबार साँँझ ६ बजे ब्रेन्ट कच्चा तेलको मूल्य १०१.४७ डलर प्रतिब्यारेल निर्धारण भएको छ । इरानले कच्चा तेलको आपूर्ति सुरु गर्ने खबर सार्वजनिक भएसँगै साउदी अरब र तेल उत्पादक तथा निर्यातकर्ताहरूको संगठन (ओपेक)मा आबद्ध राष्ट्रले उत्पादनमा कटौती गर्ने संकेत दिएपछि अन्तर्राष्ट्रिय मूल्य उकालिन थालेको हो ।


त्यस्तै, कच्चा तेलको मूल्य घटेका बेला विकसित देशको आर्थिक स्थितिमा कुनै सुधार नदेखिएको हुँदा कच्चा तेलको भाउले पुरानै लय लिन लागेको विश्लेषकहरूको टिप्पणी छ । केही विश्लेषकहरूले भने सन् २०२२ को अन्त्यसम्ममा कच्चा तेलको मूल्य ६८ डलर प्रतिब्यारेलसम्म आइपुग्ने भविष्यवाणी गर्दै तेल कम्पनीहरूलाई खुसी दिएका थिए । तर, मूल्य घट्न थालेको करिब डेढ महिनामै कच्चा तेलको मूल्य पनि उकालो लागेको छ । 


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २६ जेठमा १२०.६७ डलर प्रतिब्यारेल कायम भएयता निरन्तर घट्दै आएको थियो । ३१ साउनमा ९२.१५ डलर प्रतिब्यारेलमा आइपुगेको कच्चा तेलको भाउ पुनः बिस्तारै उकालो लाग्दै एक सय डलर प्रतिब्यारेल पुगेको हो ।

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गर्दा आयल निगमको घाटासमेत घटेर न्यूनतम बिन्दुमा आइपुगेको हो । डेढ महिनायता लगातार तेस्रोपटक घटेर आएको मूल्यका कारण आयल निगम पेट्रोलमा नाफा आर्जन गर्न सफल भएको थियो । जसकारण निगमको ३१ साउनदेखि १५ भदौसम्मको वासलात नै ३२ करोड रुपैयाँ घाटामा सीमित भएको थियो ।