इटहरी । मोफसलकै सर्वाधिक राशिको विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण माघ अन्तिमदेखि सुरु हुने भएको छ।
विराटनगरको सहिद रंगशालामा रात्रीकालीन रूपमा माघको अन्तिम सातादेखि विराट गोल्डकप आयोजना गर्ने तयारी थालिएको आयोजक विराट गोल्डकप ट्रस्टले जनाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को खेल तालिकासँग मिलाउनका लागि पहल भइरहेको जनाउँदै आयोजकले सम्भव भए माघ अन्तिम सातादेखि वा नभए चैतको दोस्रो साताबाट प्रतियोगिता थाल्ने जनाएको छ।
आयोजक विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको संयोजनमा यस गोल्डकप आयोजना हुने छ। यस संस्करणका लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन विराटनगर महानगरपालिकाले गरेको अध्यक्ष बानियाँको भनाइ छ।
अघिल्लो संस्करणझैं यसपालि पनि प्रतियोगिताका खेलहरू राति हुने छन्। त्यसका लागि सहिद रंगशालामा फ्लड लाइट जोडिएकै छ।
यस संस्करणमा नेपाल र भारतका १० टोलीको सहभागिता रहने छ। कोरोना महामारीका बाबजुत खेलाइएको अघिल्लो संस्करणमा क्यामरुनको टिम पनि सहभागी थियो।
क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन दोलाले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। तर, यसपटक भने नेपाल र भारतका शीर्ष डिभिजनको प्रतियोगिता खेल्ने पाँच–पाँच टिम रहने अध्यक्ष बानियाँले जनाए।
अघिल्लो संस्करणका विजेताले १५ लाख १५ हजार पुरस्कार पाएको थियो। त्यसअघि पाँचौं संस्करण विजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार पाएको थियो। यसपालि भने एन्फाको नियमानुसार सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २० लाख रुपैयाँ नगद र आकर्षक शिल्ड पनि प्रदान गरिने बानियाँले बताए।
अघिल्लो संस्करणमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले भारतको पंजाब पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको थियो।