त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा लक्ष्मीपूजाको रात बिद्युत् सर्ट भई आगलागी हुँदा एउटा रिकन्डिसन हाउसका ३५ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । किस्मत अलिको घरमा भाडामा सञ्चालनमा रहेको डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा आगलागी भएको हो ।
टेकबहादुर दाहाल र राजकुमार राउतको उक्त पसलमा दिपावली गरेर हिडेलगत्तै आगलागी सुरु भएको हो ।
राती अचानक आगलागी भएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, प्रहरी, बारुद यन्त्रको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिएको जनाएका छन् ।
आगलागीबाट ३५ वटा मोटर साइकल, ३ वटा ल्यापटप, सिसि क्यामेरा, प्रिन्टर, मोटर पार्टसका सामान, मेसिन लगायतका करिब १ करोड ५० लाख भन्दा बढीको क्षति भएको सञ्चालक टेकबहादुर दाहालले बताए ।