मलेसियामा तीन वर्षपछि खुल्यो रोजगारीको बाटो

न्युजलय १० कार्तिक २०७८, बुधबार ०१:१७ मा प्रकाशित

काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियामा रोजगारीको बाटो खुलेको छ। 

 

सिण्डिकेट प्रकरणका कारण २०७५ जेठ २ गतेदेखि नेपालीहरू मलेसिया जान पाएका थिएनन्। 


बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको थियो तर पनि म्यानपावर कम्पनीले कामदार पठाउन सकेका थिएनन्। त्यसलगत्तै महामारीका रूपमा फैलिएको कोभिड १९ का कारण मलेसिया रोजगारीको बाटो पुनः रोकिएको थियो। 


हाल मलेसियाले विदेशी कामदार लिने निर्णय गरेसँगै नेपालीका लागिसमेत बाटो खुला भएको हो। 

 

काठमाडौंस्थित मलेसियाको दूतावाासले विज्ञप्ति जारी गर्दै महामारीका कारण लगाइएको प्रतिबन्ध हटाइएको बताएको छ। मलेसिया प्रवेशका लागि निश्चित मापदण्ड भने तोकिएको छ। मलेसिया जानेले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्नेछ।


वैधानिक भिसा भई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका व्यक्ति मलेसिया जान पाउनेछन्। 


मलेसिया प्रवेशका लागि पिसिआर परीक्षणको नेगेटिभ रिपोर्टसमेत अनिवार्य गरिएको छ। मलेसिया पुगेपछि तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी क्वारेन्टाइनमा बस्नुपर्ने छ। 

 

मलेसियामा रोजगारीको बाटो खुला भए पनि कामदार शून्य लागतमा जान पाउने टुंगो भने लाग्न सकेको छैन। यसबारे कुनै पनि आधिकारिक जानकारी नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता एंव सहसचिव डण्डुराज घिमिरेले बताए। 

 

२०७५ कात्तिक १२ गते नेपालका तर्फबाट तत्कालीन श्रम मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधन मन्त्री एम.कुलासेगरानबीच शून्य लागतमा नेपाली श्रमिक जान पाउने गरी श्रम समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको थियो। 


उक्त समझदारीमा भएको व्यवस्थाअनुसार मलेसिया जाने नेपाली श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्दैन।

 

यसअघि मलेसिया रोजगारीमा जाने नेपालीहरू चरम आर्थिक शोषणमा परेको भन्दै पनि तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टले रोजगारीको बाटो नै बन्द गराएका थिए।