इटहरीमा नगर प्रहरी - नियमविपरीत असुलीदेखि सेवाग्राहीलाई गेटमा उभ्याएर केरकारसम्म

न्युजलय २ चैत २०८०, शुक्रबार १०:०४ मा प्रकाशित

इटहरी । नगर प्रहरीहरु नगरपालिकाका कामकारवाहीहरुलाई सहज बनाउन नियुक्त गरिन्छन् । इटहरी उपमहानगरपालिकाले पनि केही समयअघि भर्ना खोलेर नगर प्रहरीहरु नियुक्त गर्यो । उनीहरुलाई तालिम पनि दियो । तर उनीहरुको गतिविधि नगरको हितमा भन्दा पनि कानुन उल्लंघन र सेवाग्राहीलाई सास्ती दिनमै बढी भइरहेको छ ।


नगर प्रहरीहरु अहिले बजार व्यवस्थापन, सफारी व्यवस्थापन र कार्यालयको सुरक्षामा खटिएको देखिन्छ । तीनै ठाउँमा उनीहरुको हर्कत अमानवीय र विवेकहीन देखिएको छ । त्यसो त अलि अघि इटहरी अस्पतालका डाक्टरहरुलाई समेत दुर्व्यवहार गरेका थिए । 


सफारीलाई राजमार्गमा अवरोध नगर्न उच्च अदालतले आदेश दिएको छ । तर त्यो विपरीत उपमहानगरपालिकाले नगर प्रहरीलाई राजमार्गमा सफारीलाई दुःख दिन र उनीहरुबाट अवैध असुलीको लागि प्रयोग गरिरहेको छ । राजमार्गमा सफारीको कागजात जाँच गर्ने अधिकार ट्राफिक प्रहरीलाई मात्र छ । तर नगर प्रहरी गैह्रकानुनी रुपमा बाटोमा सफारी रोक्दै कागजात जाँच गरिरहेका हुन्छन् र जरिवानाको चिर्कटोसमेत थमाउँछन् । अदालतले दिएको आदेश सरकारी तहले नै अवज्ञा गर्दै नगरप्रहरीलाई अवैध असुलीको अनुमति दिनु इटहरीकै लागि लाजमर्दो विषय बनेको छ ।


कतिपय अवस्थामा सफारीलाई लखेट्दै रोक्ने, चालकलाई हप्कीदप्की गर्नेसमेत गर्छन् । केही दिनअघि त उनीहरुले उपमहानगरपालिकाको गेटैमा सफारी चालकलाई कुटेर लछारपछार पार्दै नगरपालिका भित्र लगे । त्यही दिन फोटो खिँच्ने क्रममा रहेका पत्रकार कृष्ण बहावलाई घेरेर दुव्र्यवहार गरे भने मोबाइलसमेत खोसे । बहावले अघिल्लो दिन उपमहानगरपालिकाले ऐनमा किर्ते गरेको समाचार लेखेका थिए । 


एउटा आम नागरिकले फोटो भिडियो खिच्दा किन खिचेको भनेर सोध्ने, गाली गर्ने र मोबाइल खोस्ने अधिकार कसैलाई छैन । त्यसमाथि पत्रकारले परिचय दिँदा दिँदै उपमहानगरपालिका अगाडी, नगर प्रहरीहरूबाट यस्तो गरिनु लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको भद्दा मजाक हो ।


यस्तै बजार व्यवस्थापनका नाममा उनीहरुले साना व्यापारीहरुलाई अनावश्यक केरकार गर्ने, मिलाएर राखेका सामान छरछार पार्ने र अभद्र व्यवहार गर्ने गरेको गुनासाहरु बाक्लै आउन थालेका छन् । ‘नपाउनेले केरा पायो, बोक्रै सुद्ध खायो जसरी नगर प्रहरीको हर्कत बढेको छ,’ एक युवा भन्छन्, ‘उपमहानगरपालिकाले अह्राएर यसो गरेको हो वा उनीहरु आफैले मनपरी गरेका हुन् थाहा छैन ।’


यस्तै इटहरी उपमहानगरपालिका कार्यालय अहिले छिर्नको लागि पनि नगर प्रहरीको अनावश्यक केरकार झेल्नुपरेको सेवाग्राहीको गुनासो छ । गेटमै कुनै अपराधीलाई झैं उभ्याएर काम के छ ? भन्दै सोध्ने र उभ्याएर केरकार गर्ने काम उनीहरुले गर्ने गरेका छन् । ‘यस्तो कडाई त मन्त्रालयमा पनि हुँदैन,’ इटहरीका सुमन कार्की भन्छन्, ‘कडाई नै भएपनि यस्तो अभद्र व्यवहार हुँदैन ।’ उनका अनुसार उपमहानगरपालिकामा पहिले सहज पहुँच पाउने नगरवासीहरु अहिले पस्नै नपरे हुन्थ्यो झै गरी आजित बनेका छन् । यस्तो कार्यले सेवाग्राही मैत्री प्रशासनको नाराको खिल्ली उडाएको छ । भन्छन्,  'उपमहानगरपालिका भित्र निःशुल्क कफिको व्यवस्था छ. तर बाहिर भने तारे होटलमा पनि नभएको चेकजाँच गरिन्छ ।'


कतिपय वृद्धवृद्धाहरु केही सातायता भइरहेको अनावश्यक केरकारले असमन्जसमा परिरहेको देख्न सकिन्छ ।