इटहरी । आगलागीको ७ महिनापछि इटहरीस्थित सेन्ट्रल प्लाजाले आफ्नो पूर्ववत सेवा सुरु गर्न थालेको छ । क्युएफएक्स हल गत तिहारदेखि सञ्चालनमा आइसकेको छ भने होटल केही दिनमा सञ्चालनमा आउन लागेको सञ्चालक सिद्धार्थ श्रेष्ठले जानकारी दिएका छन् ।
गत चैत १३ गते प्लाजाको पाँचौ तलामा रहेको मुख्य कार्यालयबाट आगो सुरु भएको थियो । नौ तलाको उक्त भवनको त्यसमाथिका तलाहरु आगलागीमा परेको थियो । जसको कारण क्युएफएक्स हल, रेष्टुरेन्ट, लज आदि जलेको थियो । आगो नियन्त्रणमा लिनको लागि सुनसरी र मोरंगका विभिन्न पालिकाबाट झण्डै दर्जन दमकल आएका थिए । सुरक्षा निकायसमेतको सक्रियतामा ६ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । भवनमा फँसेका मानिसलाई हेलिकप्टरले उद्धार गरेको थियो ।
आगलागीले पाँचौं तला आगोले जलेर नष्ट भएको भएको थियो भने त्यसभन्दा माथिका तलाहरुमा तापक्रम र धुवाँले क्षती गरेको थियो । ती सबै भागहरुको पुनर्निर्माणको काम सकिएको श्रेष्ठले जानकारी दिए । ‘एक्टेरियरको कामहरु केही बाँकी छन् । इन्टेरियरको कामहरु लगभग सकेका छौं । केही समयमै होटल सञ्चालनमा आउनेछ,’ उनले भने ।
कोरोना महामारी र आर्थिक मन्दीका बिचमा तंग्रिँदै गरेको व्यवशायलाई आगलागीले ठूलो नोक्सान पुर्याएको बताउँदै उनले आफूहरु नयाँ आशाका साथ उठेको बताए । ‘प्रहरी प्रशासनदेखि इटहरीवासी, शुभचिन्तकहरु सबैको सहयोगप्रति हामी कृतज्ञ छौं,’ उनले भने, ‘राम्रो व्यवशायीक वातावरणले यो ठाउँमा रोजगारी सृजना र आर्थिक गतिविधि चलायमान गर्ने हुँदा सबैको साथ सहयोगको आशा राख्छौं ।’