विराटनगरमा स्टाफ नर्सको हत्या

न्युजलय २ चैत २०८०, शुक्रबार ०३:२९ मा प्रकाशित

विराटनगर । विराटनगरमा हत्या गरेको अवस्थामा स्टाफ नर्सको शव फेला परेको छ। 

विराटनगर –४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्।

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ ।  

धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ। 

हत्यामा संलग्नको पहिचान खुल्न बाँकी छ। घटनामा संलग्न हत्यापछि शव छाडेर फरार भएको बताइएको छ ।घटनाको अनुसन्धान सुरु गरेर हत्यामा संलग्नको खोजी थालिएको प्रहरीले जनाएको छ ।