इटहरी । रास्वपाले सुनसरी क्षेत्र नम्बर २ बाट उठाएका उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
थापाले इटहरीस्थित जनता माविको जग्गा भाडामा लिएको तर भाडा नतिरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो । इनरुवाका सत्यनारायण पण्डितले थापाविरुद्ध उजुरी दिएका हुन् ।
निवेदक पण्डितले निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १० (विविध) ४२ नम्बर बुँदा अन्तर्गत बेरुजु फछ्र्यौट गर्नुपर्नेमा सो नगरेको भन्दै उम्मेद्वारी खारेजीको माग गरेका छन् । निवेदकका अनुसार थापाको कम्पनीले जनता माध्यमिक विद्यालयलाई ७४ लाख १५० रुपैया तिर्नुपर्ने दावी गरेका छन् ।
थापा सञ्चालक रहेको सनमुन प्लाजा कम्पनी र जनता मावि बिचमा २०७६ साउन १ देखि लागु हुनेगरि करिब २ कट्ठा जग्गा भाडामा लगाउने सहमति भएको थियो । सम्झौता अनुसार भवन सनमुनले बनाउने र जग्गा भाडावापत मासिक १ लाख ७ हजार ५ सय एक रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ ।
कम्पनीले स्कुलको जग्गामा दुई तले भवन बनाएको र त्यसमा सटरहरू निकालेर भाडामा दिएको थियो । सटर भाडामा दिएर पैसा उठाए पनि उनले विद्यालयलाई भने जम्मा साढे ७ लाख मात्र तिरेको जनता माविले जानकारी दिएको छ। यसरी ७४ लाख बढी बक्यौता रहेको उजुरीमा छ । यही विषयमा उनीविरुद्ध अख्तियारमा पनि मुद्धा विचाराधिन रहेको छ ।
लालबिक्रमले भने जनता माविले भनेजति जग्गा नभएको, कोभिडका कारण बिचमा भवन समयमा निर्माण सम्पन्न हुन नसकेको जस्ता कारण देखाउँदै भाडा समायोजन गरिदिन विद्यालयदेखि वडा कार्यालयसम्म गुहारेका थिए । तर भाडा समायोजन गर्दा भ्रष्टाचार र मिलेमतोको आरोप लाग्ने देखेपछि तत्कालीन व्यवस्था समिति अध्यक्ष काशीनाथ दंगालले त्यो सम्भव नहुने जानकारी दिएका थिए।
भाडाको विषयमा विवाद भएपछि लालविक्रमले २०८० फागुनमा कम्पनि अस्मिता खड्का, रमा खत्री र गणेशप्रसाद कोइरालाको नाममा सारेका थिए । त्यसपछिका दिनहरूमा उनले उक्त कम्पनीमा आफू नभएको र बक्यौता आफूले तिर्नुपर्ने नभएको दाबी गर्दै आएका थिए।
उनले जनता माविलाई आफूले कम्पनि बेचिसकेकोले महालेखा परिक्षकको कार्यालयलाई रिपोर्ट सच्याउनका लागि पत्र लेखिदिन समेत आग्रह गरेका थिए । स्कुलले भने त्यो आफ्नो कार्यक्षेत्रभित्र नरहेको जवाफ दिएको प्रअ पशुपति सिग्देलले जानकारी दिएका छन् ।
उनले अढाइ वर्षमा कम्पनी छोड्दा पनि जम्मा साढे ७ लाख रुपैयाँ मात्र कम्पनीले विद्यालयलाई तिरेको जनता माविले जानकारी दिएको छ । भवन भाडामा लगाएर पैसा उठाइरहने तर विद्यालयलाई चाहिँ नतिर्ने गरेपछि विद्यालयले बक्यौता तिर्न ताकेता गरेको थियो ।
यस्तै थापाले आफूले कम्पनी त्यागेको बताएपनि आन्तरिक राजश्व कार्यालयमा स्थायी लेखा प्रमाणपत्रमा भने उनकै नाम रहेको पण्डितले दावी गरेका छन् ।
बक्यौता निकै धेरै भएपछि भवन नै स्कुललाई जिम्मा लाउने गरी समेत छलफल अगाडि बढेको थियो। भवनको मूल्याङ्कन गर्दा ८८ लाख रुपैयाँ को मूल्याङ्कन प्रतिवेदन इटहरी वडा नम्बर ९ को कार्यालयले दिएको छ।
उम्मेद्वार थापाविरुद्ध परेको उजुरीका सम्बन्धमा भोली सुनुवाई हुनेछ ।