इटहरी । इटहरीस्थित जनता स्कुलले आफ्नो जग्गा भाडामा लगाएकोमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सुनसरीले विरोध जनाएको छ । उसले उक्त जग्गालाई विद्यालयको शैक्षिक क्रियाकलापमा प्रयोगमा ल्याउनसमेत माग गरेको छ ।
इटहरी ४ स्थित हटिया लाइनको करिब २ कठ्ठा जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा दिएकोमा उक्त संगठनले विज्ञप्ती जारी गरी विरोध जनाएको हो । नेपालको प्रचलित कानून तथा सर्वोच्च अदालतले स्थापना गरेका विभिन्न नजिरहरु अनुसार सार्वजनिक शैक्षिक सम्पत्ती भाडामा दिन नहुने कुरा उसले स्मरण गराएको छ ।
जिल्ला अध्यक्ष अतितकिरण नेपालले जारी गरेको विज्ञप्तीमा विद्यालयको जग्गा शैक्षिक क्रियाकलापमा प्रयोग नभए विभिन्न आन्दोलनका कार्यक्रम तथा थप कानूनी उपचारमा जान आफूहरु बाध्य हुनेसमेत चेतावनी दिइएको छ ।
भाडावापतको पैसा विद्यालयले नपाएको भन्दै केही दिनदेखि सामाजिक सञ्जालमा टिप्पणी भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विद्यालयको जग्गामा बनेका अनाधिकृत संरचनाहरुलाई तत्काल विद्यालय मातहतमा ल्याई शैक्षिक क्रियाकलापमा प्रयोग गर्न माग गरेको छ ।
विद्यालयले गत २०७६ साल साउन महिनादेखि लागु हुने गरी उक्त जग्गा व्यवशायीक प्रयोजनका लागि मासिक १ लाख ७ हजार ५०१ रुपैया आउने गरी भाडामा दिएको थियो । उक्त जग्गामा दुई तले भवन बनाइएको छ भने सटरहरु भाडामा लागेका छन् । करिब दुई कठ्ठा भनेर सम्झौता गरिएपनि उक्त स्थानमा २२ धुर मात्र जग्गा रहेको पाइएको थियो । बाँकी जग्गा स्थानीयले वरपरबाट पहिल्यै अतिक्रमण गरेको बताइएको छ ।
सोही भाडावापतको लाखौं रुपैया पाउन बाँकी रहेको विद्यालयले जनाएको छ । सो विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि अनेरास्ववियूले विद्यालयको जग्गा अन्य प्रयोजनका लागि भाडामा दिनै नहुने भन्दै विरोध जनाएको हो ।