काठमाडौँ । प्रेस काउन्सिल नेपालले असान्दर्भिक विषयवस्तु प्रकाशन गर्नुको कारण पेस गर्न सेतोपाटी डट कमलाई आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ।
झापा १ का उम्मेदवार अग्नी खरेलको छोराको विषयमा लेखिएको उक्त समाचार तत्काल हटाउन र कानुन बमोजिम कारवाही समेत गर्नका लागि शनिबार निर्वाचन आयोगले समेत उक्त अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
तर, आयोगलाई मिडियाको कन्टेट हटाउने र पत्र काट्ने अधिकार नभएको भन्दै उक्त निर्णय विवादमा परेको थियो। काउन्सिलले भने चुनावको स्वअनुगमनमै उक्त समाचार परेको र थप कारवाहीका लागि भन्दै पहिले त्यस्तो समाचार प्रकासन गर्नुको कारण मागेको हो।
सेतोपाटीले केही दिन अघि खरेलको छोरा अमेरिकी आर्मीमा जागिर रहेको र त्यहीँको नागरिकता रहेको सन्दर्भ राख्दै समाचार प्रकासन गरेको थियो। नातेदार वा नजिकका आफन्तको नाम असान्दर्भिक रुपमा जोडेर समाचार लेख्न नहुने भन्ने आचारसंहिताको प्रावधान उल्लेख गर्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो।
काउन्सिलले गर्नुपर्ने काम आयोग स्वयंले गरेको भन्दै पत्रकार महासंघ र मिडिया जगतबाट व्यापक विरोध भएपछि आयोग पछि हटिसकेको छ। यसअघि काउन्सिलले विभिन्न पत्रपत्रिका, अनलाइनसहितका सञ्चारमाध्यमलाई पत्र लेख्ने काम गरिसकेको छ।
सुरुमा सेना, पुलिससहितको संरचना बनाएर मिडियाको अनुगमन आफै गर्न थालेपछि काउन्सिल र पत्रकार महासंघले ब्यापक विरोध गरेका थिए। उक्त विरोधपछि आयोग आफैले मिडियाको अनुगमन गर्ने, कारवाही गर्ने काम काउन्सिलको हुने उल्लेख गर्दै एक महिना अघि पत्राचाार समेत गरेको थियो। त्यसविपरीत आफै मिडियाको कन्टेन्ट हेर्ने प्रयास गरेपछि विवाद बढेको हो।