इटहरी । युनिसेक्स पार्लर सेवा प्रदान गर्दै आएको फेसियल हाउसले आफ्नो १०औं शाखा इटहरीमा विस्तार गरेको छ। इटहरीको सेन्ट्रल प्लाजामा आयोजित एक समारोहका बीच इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले रिबन काट्दै नयाँ शाखाको उद्घाटन गरेकी हुन्।
फेसियल हाउसले कपाल तथा छालासम्बन्धी विभिन्न सौन्दर्य सेवा—जस्तै हेयर कलर, स्ट्रेट, कर्ली, हेयर ट्रीटमेन्ट, मेडीकेयर, जेल नेल, माइक्रोब्लेडिङ, पिम्पल र चायापोताको उपचार—प्रदान गर्नेछ । संस्थाकी प्रबन्ध निर्देशक तथा उद्योग वाणिज्य संघ काठमाडौंकी सचिव सुस्मा महराका अनुसार, यो सेवा सम्पूर्ण परिवारका लागि लक्षित गरिएको हो ।
महराले हालको आर्थिक मन्दीका बाबजुद पनि संस्थाले छोटो समयको नाफाभन्दा दीर्घकालीन व्यवसायिक स्थायित्वमा ध्यान दिँदै इटहरीमा शाखा स्थापना गरेको बताइन् । उनकाअनुसार, विभिन्न शाखाहरूका लागि सामूहिक रूपमा कस्मेटिक सामग्री खरिद गरिने भएकोले थोरै मुल्यमा सामान उपलब्ध गराउने गरिएको र सेवासमेत सस्तो भएको हो ।
यसअघि झापामा स्थापना गरिएको शाखा कोभिड–१९ का कारण बन्द गर्नुपरेको थियो। त्यसपछि फेसियल हाउसले हालसम्म पश्चिम तथा मध्यपश्चिम क्षेत्रमै आफ्नो सेवा केन्द्रित गर्दै आएको थियो। अब पूर्वतर्फ पुनः इटहरीबाट सेवा सुरु गरिएको महराले जानकारी दिइन् ।
राजधानीमा मात्र व्यवसाय गर्दा बढी आम्दानी हुन्छ भन्ने मानसिकतालाई तोड्दै देशका विभिन्न भूगोलमा सेवा विस्तार गर्दै जानु संस्थाको लक्ष्य रहेको महराले बताइन्।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख संगिता कुमारी चौधरी, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, व्यवसायी गायत्री भण्डारीलगायतले व्यवसाय प्रवर्द्धनका लागि आफ्नो तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।