विराटनगर । अहिले एउटा भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।
विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चाकलले नर्सिङमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । भिडियामा छात्राहरुलाई अभद्र व्यवहार गरेको देख्न सकिन्छ ।
सञ्चालकले अग्रिम पैसा नदिएको भन्दै नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै निकालेकी छिन् । तर, छात्राहरुले एक महिनासम्मको पैसा होस्टल सञ्चालकलाई अग्रिम बुझाई सकेको पिडित छात्राहरुले बताएका छन् ।
होस्टलकी सञ्चालक मधु रेग्मीले अग्रिम होस्टलको पैसा माग्दै छात्रालाई कुटपिट गरेर किताब कापी फ्यालेको घटना सामाजिक सञ्जालमा भिडिओ मार्फत सार्वजनिक भएको हो ।
पीडित छात्राहरुको भनाई अनुसार होस्टल सञ्चालक रेग्मी आफू काठमाडौं जानुपर्ने भन्दै अग्रिम रूपमा होस्टलको पैसा माग्न मंगलबार साँझ होस्टल पुगेकी थिइन् । तर, नर्सिङकी विद्यार्थीले केही दिनपछि कलेजमा नै होस्टल व्यवस्थापन हुने टुंगो भएका होस्टल छाड्दै थिइन् ।
तर कहिले छाड्ने भन्ने टुङ्गो नभएको भन्दै अग्रिम पैसा माग्ने क्रममा अभद्र व्यवहार गरिएको बताइएको छ ।
भिडियोमा होस्टल सञ्चालक रेग्मीले महिना दिनको पुरै भाडा मागेको देखिन्छ । तर विद्यार्थीले एक, दुई दिनपछि होस्टल छाड्ने र त्यतीबेलासम्मको मात्रै भाडा दिने बताएकी छन् ।
तर, होस्टल सञ्चालक रेग्मीले भने महिना दिनको भाडा नदिए अहिल्यै निस्केर जान भन्दै कुटपिट गरेको भन्दै नर्सिङ क्याम्पसको स्ववियु समक्ष पीडितले बताएको अध्यक्ष पौडेलले जानकारी दिइन् ।
होस्टलको रुममा तीन छात्रा बस्दै आएका थिए । उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएससी र नर्सिङ प्रथम वर्षमा अध्ययनरत हुन् ।