काठमाडौँ । अफ्रिकी देश घानामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दुई मन्त्रीसहित आठ जनाको मृत्यु भएको छ।
दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित घानाका कार्यवाहक उप–राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, राष्ट्रिय प्रजातान्त्रिक कांग्रेसका उपाध्यक्ष शमूएल सारपोङ र पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगेको पनि मृत्यु भएको थियो।
हेलिकप्टरमा जम्मा पाँच यात्रु र तीन चालक दलका सदस्य थिए। घानाको सेनाले बताएअनुसार हेलिकप्टरले बिहान ९ः१२ बजे राजधानी आक्राबाट उडान भरेको थियो र सुन खानी भएको शहर ओबुआसीतर्फ जाँदै थियो, जहाँ एक राष्ट्रिय कार्यक्रम आयोजना हुने तय भएको थियो। यसै क्रममा अचानक सम्पर्क विच्छेद भयो।
घानाको सेनाका अनुसार बुधबार बिहान राजधानी आक्राबाट उडान भरेपछि हेलिकप्टर राडारबाट गायब भएको थियो। दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन।