काठमाडौं । नेपाली युवाको माग र अदालतको आदेश बमोजिम इपीएसका लागि आवेदन गर्ने सबै परीक्षार्थीले परीक्षा दिन पाउने भएका छन् ।
भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) का निमित्त प्रमुखसँग आज वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले राखेको बैठकले यस्तो निर्णय गरेको हो ।
सबै परीक्षार्थीहरुलाई तीन वटा लटमा विभाजन गरेर परीक्षा दिन लगाउने सहमति भएको हो । जसअनुसार पहिलो लटमा आउँदो जनवरी २० मा ४७ हजार जनाको परीक्षा लिइने छ । त्यसपछि क्रमशः दोस्रो लटमा ८० हजार र तेस्रो लटमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिन पाउने भएका छन् ।
कोरियाले यसअघि कृषि तथा उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लिने गरेकोमा यसपाली सिप बिल्डिङ परीक्षा पनि लिएको थियो । इपीएस कार्यालय नेपालले सुरुमै सीप बिल्डिङ परीक्षा दिनेले यसै वर्ष हुने अर्को इपीएस परीक्षामा सामेल हुन नपाउने सूचना निकाल्यो । त्यसको विरोधमा सीप बिल्डिङमा फेल भएका युवाहरुले आन्दोलत बनेका थिए ।