काठमाडौं । नेपालका अग्रणी पेट्रोलियम व्यवशायी तथा उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य शिव घिमिरेको लगानीमा नेपालमा पहिलो पटक विद्युतीय स्कुटरको उत्पादन सुरु हुने भएको छ ।
उनको कम्पनि एसजी अटोक्राफ्टले नेपालमै विद्युतीय स्कुटर एसेम्बल सुरु गरेको हो । कम्पनीले परीक्षणका रुपमा ललितपुरको इमाडोलमा सानो स्केलमा एसेम्बल सुरु गरेको छ भने उत्पादन र परिक्षण सफल भए बारामा ठूलो कारखाना स्थापना गरी उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । सोको लागि जग्गा खरीदसमेत गरिसकिएको छ ।
स्कुटर उत्पादनको लागि चिनियाँ विद्युतीय ब्रान्ड ‘ओकला ई स्कुटर एन्ड बाइक’सँग साझेदारी गरिएको छ ।
तीन अर्ब रुपैयाँको लगानीमा विद्युती सवारी मोटरसाइल र स्कुटर, कार र जिप, बसलगायतका सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता भइसकेको छ । घिमिरेले अहिले मोटरहेडको मोटरसाइकल आयात गर्दै आएका छन्। घिमिरेको आधा दर्जनभन्दा बढी ग्यास उद्योग सञ्चालनमा छन्। घिमिरेले अक्सिजन ग्यास उद्योगसमेत सञ्चालन गरिरहेका छन्। यसबाहेक घिमिरेले हाइड्रोमा समेत लगानी गरेका छन्।