इटहरी । परिवारको भविष्यको सपना बोकेर जापान पुगेकी बागलुङकी बिष्णु कुँवर जापान आएको करिब २ वर्षपछि आफू कार्यरत कम्पनीमै अचानक बेहोस भई अस्पताल भर्ना भएकी छन् ।
विगत ५ महिनादेखि जापानको अस्पतालमा उपचाररत बिष्णुलाई बिरामी भएको ११औँ दिनदेखि इटहरीकी नम्रता ढुंगानाले निरन्तर साथ र सहयोग गर्दै आएकी छन्।
रगतको नाता नभए पनि मानवताको नाताले नम्रताले आफ्नो काम, पढाइ र जिम्मेवारीसँगै बिष्णुलाई साथ दिँदै आएकी छन्। अहिले बिष्णुको स्वास्थ्यमा सुधार हुँदै गएपछि उनलाई सकेसम्म छिटो नेपाल फर्काउने तयारी भइरहेको छ।
नेपाल फर्काउन आवश्यक आर्थिक सहयोगको अभाव भएकाले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा सहयोगी मनहरूलाई सक्दो सहयोग गरिदिन अनुरोध गरेकी छिन् ।