इटहरी । इटहरीस्थित सगुन कृषि सहकारी संस्था लि. ले सञ्चालन गरेको कृषि यन्त्र उपकरणहरूको डेमो प्रदर्शन गरेको छ ।
रामधुनी २ मा जमिनलाई सम्याउने लेजर ल्याण्ड लेभलर र मकै रोप्ने मेज सिडरको डेमो देखाएको हो । इटहरीस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको सहयोगमा किसानहरुलाई दुवै मेसिनको प्रयोग र फाइदाबारे डेमोसहित जानकारी गराएको हो ।
लेभलर मेसिनले जमिनलाई पानी जम्न नदिने गरी अटोमेटिक तरिकाले एउटै लेभलमा सम्याउने र मैज सिडरले सानो प्वाल बनाएर मकैलाई रोप्ने भएकोले किसानले थोरै समयमा धेरै उत्पादकत्व पाउनसक्ने केन्द्रका प्रमुख डा. गोविन्द तिम्सिनाले जानकारी दिए ।
सगुन कृषि सहकारी संस्थाले रामधुनीमा कस्टम हायरिङ सेन्टर स्थापना गरेको छ । कोशी प्रदेश सरकारसँगको सहकार्यमा सेन्टरको स्थापना गरिएको हो । सेन्टरले सञ्चालन खर्च मात्र लिएर किसानहरुलाई कृषि यन्त्र उपकरणहरु भाडामा उपलब्ध गराइरहेको छ । प्रदेश सरकार र सहकारी दुवैलाई सहजिकरण गरिरहेको सहज परियोजनाअन्तर्गत दोस्रो चरणको सम्झौता भएर काम अघि बढेको छ ।
संस्थाले कृषिमा प्रयोग हुने आधुनिक उपकरणहरूलाई सुनसरीका विभिन्न पालिकाहरूमा रहेका किसानहरूमाझ पुर्याएको छ । किसानहरू व्यस्त हुने हुँदा उनीहरूको घर गाउँमै मेसिन पुर्याएर मेसिन देखाउने र आवश्यक जानकारी प्रदानसँगै अन्तरक्रिया गरिरहेको छ । किसानहरुले उपकरणको प्रयोगलाई रुचीपूर्वक नियालेको र कतिपयले आफ्नो खेतबारीका लागि प्रयोगमा ल्याउन चाहेको बताएका छन् ।
परम्परागत तरिकाले खेती गर्नुभन्दा आधुनिक कृषि उपकरणहरुको सहयोगले खेती गर्दा थोरै लगानीमा धेरै उत्पादकत्व पाउन सकिने हुँदा किसानहरुको आकर्षण बढ्दो रहेको सहकारीका अध्यक्ष कमलकान्त राईले जानकारी दिए । सोही क्रममा किसानहरुलाई प्रविधिको फाइदाबारे जानकारी दिन बेला बेलामा तालिम, अन्तक्र्रिया, रोड शो तथा डेमो प्रदर्शनी आयोजना गर्ने गरिएको उनले बताए ।
जमिन जोत्ने, बाली लगाउने, बाली उठाउने आदि काममा प्रयोग हुने कम्बाइन हार्भेस्टर र चेन ट्रयाक हार्भेस्टर, परालहरूलाई संकलन गरेर मुठा बनाउने बेलर, बिउ रोप्ने सिड ड्रिल, खेत जोत्ने विभिन्न उपकरणहरूसहित थ्रेसर, ट्रयाक्टरहरु सहकारीसँग छन् । थोरै मानिसको प्रयोग गरेर छिटो र अन्नबालीको कम क्षती हुने गरी मेसिनहरुबाट काम सम्पन्न गर्न सकिन्छ ।
‘पहिले मानिसले हप्तौँ लगाएर गर्ने काम आजभोलि मेसिनको प्रयोगले केही घण्टामै भइरहेको छ र त्यो श्रम शक्तिभन्दा सस्तो पनि छ,’ सल्लाहकार तथा कृषि क्षेत्रमा लामो अनुभव सँगालेका टिकादत्त वनले भने, ‘मेसिनको प्रयोग गर्नका लागि किसानहरूलाई उत्प्रेरित गर्न आवश्यक ठानेर सहकारीले सामाजिक कार्यअन्तर्गत अभियानहरु सञ्चालन गर्ने गरेको छ ।’
संस्थाले यसअघि नै युवाहरूलाई कृषि यन्त्र उपकरणको मर्मतसम्बन्धी तालिम सञ्चालन गरिसकेको छ भने ठाउँ ठाउँमा सचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ । आगामी दिनमा जमिन चक्लाबन्दी तथा कृषिको आधुनिकीकरण र मल बिउ, उपकरणहरूको सहज पहुँचका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग मिलेर काम गर्ने संस्थाले जनाएको छ ।