हिमालयन एयरलाइन्सले काठमाडौँ-कुवेत उडान थाल्दै

न्युजलय १७ असार २०७९, शुक्रबार ०७:२३ मा प्रकाशित

काठमाडौं । हिमालयन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत सिटीबीच सिधा उडान सेवा सुरु गर्ने भएको छ ।


कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि आगामी शुक्रबार, जुलाई १५ तारिखका दिन राती १०ः२५ बजे काठमाडौँबाट कुवेतका लागि उडान प्रस्थान गरी शनिबार जुलाई १६ तारिख बिहान सबेरै २ बजे कुवेत सिटीबाट काठमाडौँका लागि प्रस्थान गर्ने सम्बन्धी उडान तालिका जारी भएको जनाएको छ ।


नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औ वर्षिकोत्सवको शुभ-अवसरमा दुई देशबीच प्रतिस्पर्धात्मक एवं गुणात्मक हवाई सेवा प्रदान गर्दै यात्रुहरूको आवतजावतलाई थप सहज बनाउने सन्दर्भमा हिमालयन एयरलाइन्सले प्रारम्भ गर्न लागेको यस कार्यको दूतावास पूर्ण सफलताको कामना समेत व्यक्त गरेको छ ।


हिमालयन एयरलाइन्सले उडान सुरु गरेसँगै कुवेतबाट नेपाल फर्किने र नेपालबाट कुवेत जाने नेपाली कामदारहरुलाई हवाई टिकट पाउन सहज हुने अपेक्षा गरिएको छ । यसअघि नेपाल-कुवेत र कुवेत-नेपाल सीमित उडान हुँदा नेपाली श्रमिकले चर्को मूल्यमा हवाई टिकट खरिद गर्नुपर्ने बाध्यता थियो।