काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टी–२० विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।
समूह ‘ए’ अन्तर्गतको खेलमा पाकिस्तानले दिएको १ सय ५० रनको लक्ष्य भारतले १९ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका लागि जेमिमाह रोड्रिग्जले अर्धशतकीय पारी खेलिन् । ३८ बलको सामना गरेकी उनले आठ चौकाको सहयोगमा अविजित ५३ रन बनाइन् ।
त्यस्तै, शफाली वर्माले ३३, ऋचा घोषले अविजित ३१, यास्तिका भाटियाले १७ र कप्तान हरमनप्रित कौरले १६ रन जोडे । पाकिस्तानका लागि नशरा सन्धुले दुई र सादिया इकबालले एक विकेट लिए ।
त्यसअघि केप टाउनस्थित न्युल्याण्ड्स मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन बनायो । उसका लागि कप्तान बिस्माह मारूफले अर्धशतकीय पारी खेलिन् । ५५ बलको सामना गरेकी उनले सात चौकाको सहयोगमा अविजित ६८ रन बनाइन् ।
त्यस्तै, आयशा नसीमले २५ बलमा दुई चौका र दुई छक्काको मद्दतमा अविजित ४३ रन बनाइन् । मुनीबा अलीले १२ र सिद्रा आमिनले ११ रन जोडे । भारतका लागि राधा यादवले दुई, पूजा वस्त्रकार र दिप्ती शर्माले एकरएक विकेट लिइन् ।
आइतबार राति नै भएको श्रीलंकाले बंगलादेशलाई ७ विकेट नै हरायो । श्रीलंकाको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ३ रनले हराएको थियो ।