इटहरी । इटहरीस्थित पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजु दंगाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न २८ औं वार्षिक साधारणसभाबाट दंगाल अध्यक्ष बनेका हुन् ।
यस्तै साधारणसभाले उपाध्यक्षमा संयोग पराजुली, सचिवमा गौरीशंकर तामाङ, सदस्यहरुमा पूर्णबहादुर तामाङ, यज्ञराज दाहाल (नवराज), कृष्णप्रसाद भट्टराई, खेमु निरौला चापागाई, देवका पौडेल सिटौला र विष्णु उप्रेती सिटौला छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा दयाराम भट्टराई निर्वाचित भएका छन् भने सदस्यहरुमा नगेन्द्र अधिकारी र योगेन्द्र कुमार पोखरेल निर्वाचित भएका छन् ।
त्यसअघि कार्यक्रममा संस्थाका अध्यक्ष दिनेशकुमार भट्टराईले वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक राजु दंगालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल १,७१३ जना सेयर सदस्य रहेको संस्थामा ४९ करोड ९० लाख रुपैया निक्षेप र ४८ करोड ६४ लाख रुपैया ऋण लगानी रहेको छ । संस्थाले गत आर्थिक वर्षमा १ करोड ४५ लाख १५ हजार २२५ रुपैया नाफा गरेको छ ।
कार्यक्रमका क्रममा सहकारीमा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट बचतकर्ता बिन्दा कुमारी खत्री, उत्कृष्ट ऋणी विमला कार्की, साथै ज्येष्ठ सदस्य ८१ वर्षीय तारानाथ सिग्देल र ७५ वर्षीया गायत्रा घिमिरे छन् ।
कार्यक्रम संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नयाँ कार्यसमितिको पदस्थापन आइतबार हुने संस्थाका सचिव गणेश कुमार दुलालले जानकारी दिएका छन् ।