इटहरी । इटहरीको शिक्षामा व्यापक सुधार आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । शिक्षा सुधारमा स्थानीय सरकार र सरोकारवालाहरुले पनि धेरै काम गर्न सक्ने भएको बताउँदै इटहरीलाई गुणस्तरीय, रोजगारमुखी, सीपमूलक तथा नवप्रवर्तनको शिक्षा केन्द्र बनाउन विविध सुझाव दिएका छन् ।
एनबीके कलेज इटहरीको आयोजनामा गरिएको ‘भोलिको इटहरीमा शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा नीतिगत सुधार, पाठ्यक्रम पुनरावलोकन, प्राविधिक शिक्षाको विस्तार, करिअर मार्गदर्शन, शिक्षक सशक्तीकरण, नैतिक शिक्षा, स्थानीय पाठ्यक्रम, अनुसन्धान तथा शैक्षिक संस्थाबीचको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने लगायत सुझाव दिएका हुन् ।
कार्यक्रममा इटहरीलाई गुणस्तरीय, रोजगारमुखी, सीपमूलक तथा नवप्रवर्तनको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा शिक्षा क्षेत्रका विज्ञ, विद्यालय तथा कलेज सञ्चालक, प्राध्यापक, प्राविधिक शिक्षाका प्रतिनिधि, उद्योगी तथा सरोकारवालाहरूले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको सुरुवातमा प्राध्यापक डा. टोलनाथ काफ्ले र एनबीके कलेज इटहरीका अध्यक्ष निर्मल बरालले इटहरीको वर्तमान शैक्षिक अवस्था, प्राविधिक शिक्षाको सम्भावना र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा अवधारणा प्रस्तुत गरेका थिए । त्यसपछि सहभागीहरूले शिक्षा सुधारका विविध पक्षमा सुझाव तथा धारणा राखेका थिए ।
एमफिल स्कलर सूर्य चौलागाईंले शैक्षिक संस्थाहरूको मापदण्ड स्पष्ट हुनुपर्नेमा जोड दिँदै एउटै व्यक्तिलाई धेरै जिम्मेवारी थोपर्ने प्रवृत्तिले गुणस्तरमा असर गरिरहेको बताए । उनले विद्यार्थीको वास्तविक क्षमता पहिचान गर्न कक्षाकोठा मात्र पर्याप्त नहुने उल्लेख गर्दै शिक्षण पद्धति (पेडागोजी) र पाठ्यक्रम सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । विदेशमा १० जना विद्यार्थी बराबर एक प्रशिक्षकको अभ्यास रहेको र विद्यार्थीलाई हप्तामा कम्तीमा दुई दिन व्यवहारिक अभ्यास गराउने व्यवस्था भएकाले त्यहाँको सिकाइ प्रभावकारी भएको उनको भनाइ थियो । सीटीईभीटीका केही पाठ्यक्रम समयसापेक्ष रूपमा पुनरावलोकन गर्नुपर्ने, पुस्तकको संख्या घटाएर पाठ्यपुस्तकलाई सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्नुपर्ने तथा संस्थाहरूबीच सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा उनले जोड दिए ।
जनता मावि व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले शिक्षा सुधारलाई शिशु कक्षादेखि कक्षा १२ सम्मको समग्र प्रणालीसँग जोडेर हेर्नुपर्ने बताए । इटहरी सहर हो वा केवल बजार भन्ने प्रश्न उठाउँदै उनले यहाँका शैक्षिक संस्थाहरूले सामूहिक रूपमा उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्नुपर्ने धारणा राखे । महँगो शुल्क तिर्दैमा गुणस्तरीय शिक्षा प्राप्त हुने सोच गलत भएको उल्लेख गर्दै उनले विद्यार्थी, शिक्षक र विद्यालयबारे पर्याप्त अध्ययन नभएको बताए । स्थानीय पाठ्यक्रम, सिद्धान्त र व्यवहारबीचको सम्बन्ध तथा विद्यार्थीको नतिजाभन्दा पनि उपलब्धिबारे बहस हुनुपर्नेमा उनले जोड दिए । समस्या मात्र पहिचान गरेर नहुने, समाधानसहित अनुसन्धानमा आधारित कार्यपत्र तयार गर्नुपर्ने उनको सुझाव थियो । उनले आफूले एउटा कार्ययोजना बनाएको बताउँदै त्यसलाई छलफलका लागि केही समयमा सार्वजनिक गर्ने जानकारी दिए ।
शिक्षा समन्वय इकाइ सुनसरीका प्रमुख देवेन्द्र मल्लले शिक्षा क्षेत्रमा नीतिगत स्पष्टता आवश्यक रहेको बताए । शिक्षकलाई उच्च सम्मान दिनुपर्ने र विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकलाई पूर्ण अधिकार दिएर आफूचाहिँ सहयोगी भूमिकामा रहनुपर्ने उनको भनाइ थियो । उनले इटहरी उपमहानगरपालिकामा शिक्षा शाखा प्रमुखलाई भुमिका नदिइ थन्काएकोमा रोष व्यक्त गरे । नेपालमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने विश्वास निर्माण गर्नुपर्ने, जीवनको परीक्षामा सफल हुने विद्यार्थी उत्पादन गर्नुपर्ने तथा बालबालिकालाई योग र ध्यानमार्फत मानसिक स्वास्थ्यप्रति सचेत बनाउनुपर्नेमा उनले जोड दिए । विद्यालयको संख्या अनियन्त्रित रूपमा बढाउनुभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने उनको धारणा थियो ।
सुषमा कलेजका अध्यक्ष बोधराज नेपालले इटहरीबाट किन विद्यार्थी पढ्नको लागि काठमाडौंलगायतका शहरमा जान्छन् भन्ने प्रश्न उठाउँदै यहाँको शिक्षा प्रणालीलाई अझ प्रतिस्पर्धी बनाउनुपर्ने बताए । इटहरीबाट २० प्रतिशत जति विद्यार्थी बाहिर जाने गरेको बताउँदै उनले त्यहाँ परिक्षा प्रणाली कमजोर भएकोले पनि त्यसो भएको बताए । उनले सुषमाले एकताका धेरै ओभरसियर उत्पादन गरेपनि अहिले विद्यार्थी निकै घटेको बताए । निर्माण क्षेत्रमा देखिएको शिथिलताले असर पारेको टिप्पणी गरे । उनले पाठ्यक्रम पुनः डिजाइन गर्नुपर्ने, रोजगारका अवसर सृजना गर्नुपर्ने, सरकारको नीतिलाई खुकुलो बनाउनुपर्ने बताए । उनले शिक्षाका धेरै कुरा केन्द्रिय तहबाटै अघि बढ्ने भएकोले इटहरीको शिक्षा मात्र भनेर नहुने बताए । उनले शिक्षालाई कस्तो बनाउने भन्ने योजना चाहिने बताउँदै ‘ज्ञान, सीप र अनुभव’लाई शिक्षा प्रणालीका तीन आधारका रूपमा विकास गर्नुपर्ने धारणा राखे । अहिलेको शिक्षा प्रणालीले ‘टाउको’ मात्र बलियो बनाएको तर ‘हात र खुट्टा’ अर्थात् सीप र व्यवहारिक क्षमताको विकास गर्न नसकेको भन्दै उनले पढ्दापढ्दै रोजगारी पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
जनसहयोग माविका सहायक प्रअ योगेन्द्र निरौलाले विद्यालय तथा कलेजमा करिअर गाइडेन्सको अभाव रहेको बताए । धेरै विद्यार्थी अरूको सल्लाहमा विषय छनोट गर्ने अवस्था रहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई सानैदेखि भविष्यको लक्ष्य निर्धारणमा सहयोग गर्नुपर्ने धारणा राखे । व्यवहारिक तथा ‘सफ्ट स्किल’ शिक्षाको अभाव रहेको र त्यसले गर्दा बजारमा सामान्य व्यवहारिक काम गर्न नसक्ने अवस्थासमेत देखिएको बताए । शिक्षा प्रणालीमा दोहोरो मापदण्ड हुनु नहुने र नियमनकारी निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
प्याब्सन सुनसरीका अध्यक्ष नेल्सन ढकालले नेपालमा विद्यालयहरू अनियन्त्रित रूपमा विस्तार भएको बताए । विद्यालय खोल्नुअघि नक्सांकन र आवश्यकता अध्ययनका आधारमा अनुमति दिनुपर्ने तथा धेरै विद्यालयलाई समायोजन (मर्ज) गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । गुणस्तरीय शिक्षकबिना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै उनले विद्यार्थीलाई नैतिक, सीपयुक्त र जिम्मेवार नागरिक बनाउनुपर्ने धारणा राखे । भियतनामको उदाहरण दिँदै उनले स्थानीय उत्पादन र स्थानीय क्षमताको प्रवद्र्धन आवश्यक रहेको बताए । केवल शिक्षकको तलब बढाएर मात्र शिक्षा सुधार नहुने, जिम्मेवारी र कार्यसम्पादन पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो । उनले प्याब्सनले सरकारलाई सहयोग नै गरेको बताउँदै शिक्षा नीति राम्रो बनाएर विज्ञको सुझावका आधारमा काम गर्नुपर्ने बताए ।
सीटीईभीटी कोशी प्रदेशकी निर्देशक मीना खरेलले कार्यक्रममा उठाइएका अधिकांश विषय जायज रहेको बताइन् । शिक्षा सुधार नीतिगत तहबाट सुरु हुनुपर्ने भन्दै उनले सम्बन्धित ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिइन् । स्थानीय तहलाई थप सक्रिय बनाउनुपर्ने, विद्यालय समायोजनको प्रक्रिया अघि बढाउनुपर्ने र प्रविधिमैत्री संरचना निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् । विद्यालय तहदेखि नै ‘सिक्दै कमाउने’ अवधारणा लागू गर्नुपर्ने, शिक्षण पेशालाई अन्तिम विकल्पका रूपमा लिने प्रवृत्ति अन्त्य गर्नुपर्ने तथा नैतिक शिक्षामा विशेष ध्यान दिनुपर्ने उनको धारणा थियो ।
स्वास्थ्यकर्मी चन्द्रलाल कर्णले विद्यार्थीहरूको ध्यान केन्द्रित गर्ने अवधि घट्दै गएको भन्दै शिक्षा र रोजगारीलाई सँगै लैजानुपर्ने बताए । त्यसको लागि विभिन्न फ्लिप तथा हाइब्रिड टिचिङ मोडलहरु अपनाउन सकिने बताए । कुनै एक संस्थाले मात्र सम्पूर्ण जिम्मेवारी वहन गर्न नसक्ने भएकाले अनावश्यक प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । विद्यार्थीको रुचीअनुसार पढ्न दिनुपर्ने बताए ।
प्रमोद पौडेलले जनता बहुमुखी क्याम्पसमा संगीत, योगलगायतका विषय जोडेर अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्न सकिने बताए । विश्वविद्यालयका लर्निङ सेन्टरहरू स्थापना गर्न सकिने उनको धारणा थियो । सबै जुट्ने हो भने इटहरीको शिक्षा राम्रो बनाउन सकिने विचार व्यक्त गरे । विद्यार्थीलाई शिशु कक्षादेखि नै उचित मार्गदर्शन आवश्यक रहेको भन्दै उनले तथ्यांक र अनुसन्धानका आधारमा नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।
स्कील क्याम्पसका प्रज्ज्वल पराजुलीले नेपाली शिक्षा प्रणाली विश्वव्यापी प्रतिस्पर्धासँग जोडिनुपर्ने बताए । नेपालमा औपचारिक शिक्षा विश्वका विकसित देशको तुलनामा हजार वर्ष ढिलो सुरु भएको बताउँदै उनले परिवर्तित सन्दर्भअनुसार अघि बढ्नुपर्ने बताए । नेपालका विद्यार्थीको प्रतिस्पर्धा अब अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीहरूसँग हुने भएकाले शिक्षा प्रणालीको पुनरावलोकन आवश्यक रहेको उनको भनाइ थियो । उनले शिक्षकलाई पनि समयानुकुल तालिम र ज्ञानको आवश्यकता पर्ने भएपनि शिक्षक भने पढाउनमै कुदिरहेकोले समस्या रहेको बताए । स्थानीय सरकारले कक्षा १२ सम्मको शिक्षामा प्रभावकारी भूमिका खेल्न सक्ने उल्लेख गर्दै आवश्यक परे कानुनी उपचार खोजेर भएपनि अघि बढ्न सकिने बताए । उनले ११–१२ मा प्राविधिक शिक्षा समावेश गर्ने, स्थानीय पाठ्यक्रम पुनः डिजाइन गर्ने तथा सीटीईभीटीको डिप्लोमा संरचना प्लस टुसँग जोडेर चार वर्षे बनाउन बनाउन सुझाव दिए ।
सुबोध केसीले शिक्षा सुधारका लागि केन्द्र सरकारले स्पष्ट पहल गर्नुपर्ने बताए । अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्दै रोजगारमुखी शिक्षालाई प्राथमिकता दिनुपर्ने, राम्रो काम गर्ने शिक्षक तथा विद्यालयलाई पुरस्कृत र कमजोर कार्यसम्पादन गर्नेहरूलाई जिम्मेवार बनाउने प्रणाली आवश्यक रहेको उनको भनाइ थियो । गाउँमुखी जागरण अभियान सञ्चालन गरेर शिक्षा र सीपलाई गाउँस्तरसम्म विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
विद्यार्थी तथा अभियन्ता अतीत किरण नेपालले बाल्यकालको शिक्षा र अनुशासनले दीर्घकालीन प्रभाव पार्ने आफ्नो अनुभव बताउँदै प्रारम्भिक बालशिक्षामा विशेष ध्यान दिनुपर्ने बताए । ‘बुकलेस करिकुलम’ को अवधारणा लागू गर्न सकिने, जनता क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने तथा सामुदायिक विद्यालयको सहयोगका लागि नगरस्तरीय कोष स्थापना गर्न सकिने सुझाव उनले दिए । उनले सामुदायिक विद्यालयमा दुई खालको शिक्षा हुन नहुनेमा पनि जोड दिए ।
श्रम संस्कृति पार्टीकी सचिव इन्दिरा राईले शिक्षामा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् । विद्यार्थीमा मानवीय संवेदना, सहकार्य, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने खालको शिक्षा आवश्यक रहेको बताउँदै उनले ती मूल्यहरू क्रमशः कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।
ट्विंकल चौधरीले नर्सिङ लगायतका प्राविधिक शिक्षामा प्रशिक्षकको इमान्दारिता र उत्तरदायित्व अत्यन्त महत्वपूर्ण रहेको बताइन् । तालिम तथा प्रमाणपत्र वितरण प्रणालीमा देखिएका विकृतिहरू अन्त्य गर्न कडा नीति आवश्यक रहेको, नातावादका आधारमा भन्दा पनि रोजगारी क्षमता र योग्यताका आधारमा उपलब्ध हुनुपर्ने तथा देशभित्रै गुणस्तरीय अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन् । पाठ्यक्रम सुधार गर्नुपर्नेमा जोड दिइन् ।
फार्मासिस्ट सङ्गीना चौधरीले फार्मेसी शिक्षामा इन्टर्नसिपको प्रभावकारी व्यवस्था, आपतकालीन सेवा र प्राथमिक उपचारसम्बन्धी तालिम तथा ड्रग इन्फर्मेसन सेन्टर स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाठ्यक्रम र शिक्षण प्रणालीलाई समयानुकूल बनाउँदै लैजानुपर्ने उनको धारणा थियो ।
प्रकाश तिम्सिनाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रणाली इटहरीमै लागू गर्न सकिने बताए । उनले भोलिको लागि भन्दा पनि आजकै लागि सोच्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । प्राविधिक शिक्षाको व्यवस्थापन, विद्यार्थी अभिमुखीकरण, रोजगारीसँगको सम्बन्ध र व्यवहारिक शिक्षाको योजनामा राज्य, सम्बन्धन दिने निकाय तथा सीटीईभीटीले थप जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।
सामाजिक अभियन्ता राजु केसीले शिक्षा सुधारको केन्द्रमा नैतिकता हुनुपर्ने बताए । पढेलेखेका मानिसबाटै समाजमा राम्रो र नराम्रो दुवै काम हुने भएकाले नैतिक शिक्षामा विशेष ध्यान दिनुपर्ने उनको धारणा थियो । सामुदायिक विद्यालय सुधार भए निजी विद्यालयहरू स्वतः प्रतिस्पर्धी बन्ने उल्लेख गर्दै उनले नीति निर्माणसँगै प्रभावकारी अनुगमन र खबरदारीको व्यवस्था हुनुपर्ने बताए । संगीत साधना प्रतिष्ठानका महासचिवसमेत रहेका उनले संगीत शिक्षाको लागि आफूहरु लागिपरेको बताउँदै संगीतको कोर्ष रहेपनि स्किल टेस्ट नभएको बताए ।