वराहक्षेत्र । सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरू भेला हुनेभएका छन् । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो ।
स्वर्णिम साहित्य समाज वराहक्षेत्र–३ ले नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट भएका दश कविलाई केन्द्रित गर्दै फागुन १२ गते चक्रघट्टीमा ‘प्रज्ञा कविता उत्सव’ गर्ने भएको समाजले जनाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आयोजकले जनाएको छ । साहित्यमा बामे सर्दैगरेको सुनसरीको उत्तरी ग्रामीण क्षेत्रमा आयोजना हुने ‘प्रज्ञा कविता उत्सव’ ले साहित्य क्षेत्रमा थप टेवा पुग्ने आयोजकले जनाएको छ ।
वराहक्षेत्र नगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँको सहयोगमा कार्यक्रम हुने भएको संयोजक छबिना लुङ्गेली मगरले बताए। स्वर्णिम साहित्य समाज डेढ दशकदेखि वराहक्षेत्रको साहित्य र सिर्जनाको उन्नयनमा निरन्तर समर्पित रहँदैआएको छ ।