आईसीसी वरीयतामा ११ औं स्थानमा उक्ले दीपेन्द्र, म्याक्सवेल र मार्सलाई पनि उछिने

न्युजलय ५ बैशाख २०८१, बुधबार १०:४७ मा प्रकाशित

काठमाडौँ । आईसीसीको पुरुष टी–२० अलराउन्डरको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी १४ स्थानमाथि उक्लिन सफल भएका छन् ।


नयाँ वरीयता अनुसार ऐरी ११ औँ स्थानमा छन् । १ सय ४५ रेटिङसहित उनले अस्ट्रेलियाका मिचेल मार्स, जेसन होल्डर, न्युजिल्याण्डका मिचेल स्यान्टनर, अस्ट्रेलियाकै ग्लेन म्याक्सवेलजस्ता खेलाडीहरूलाई उछिन्न सफल भएका हुन् ।


आईसीसीको टी–२० पुरुष अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शाकिब अल हसन रहेका छन् । दोस्रो स्थानमा वानिन्दु हसरंगा तथा तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन् । 


त्यसपछि क्रमशः दक्षिण अफ्रिकाका ऐडेन मार्क्रम, अस्ट्रेलियाका मार्कस स्टोइनिस, जिम्बाव्वेका सिकन्दर राजा, भारतका हार्दिक पाण्ड्या, इंग्ल्याण्डका लियाम लिभिङस्टोन र मोइन अली तथा पाकिस्तानका शादाब खान छन् ।