काठमाडौं । रोमानियामा आयोजित सांगीतिक कार्यक्रममा आफूमाथि आक्रमण गर्ने नेपाली युवालाई गायक प्रकाश सपुतले सम्झाउँदै माफी दिएका छन् ।
सोही कार्यक्रममा गायक सपूतसंगै प्रस्तुति दिन रोमानियामा रहेकी गायिका प्रीति आलेले सोमबार राति फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै गायक सपूतले ती युवालाई सम्झाई–बुझाई गरेर माफी दिएको उल्लेख गरेकी छिन् ।
भिडियोमा गायक सपूतले ती युवालाई प्रहरी तथा अध्यामनबाट बचाएर ल्याएर सम्झाइ–बुझाइ गरेको देखिन्छ ।
गायक सपूतले आयोजकसंग पनि ती युवालाई माफी दिन आग्रह गरेका छन् । ‘मलाई जति दुखेको छु, मनमा दुखेको छ, नाकमा दुखेको छ, गायक सपूतले ती युवालाई यो घटनाले आफूलाई भन्दा उनलाई असर नगरोस् भन्ने भावना व्यक्त गरेका छन् ।
ती युवाले भने मदिराको नशामा रमाइलोका लागि त्यस्तो व्यवहार गरेको दोहोर्याउँदै भविष्यमा कसैप्रति पनि नराम्रो नगर्ने भन्दै गायक सपूतको खुट्टा ढोगेका छन् ।
आयोजकले पनि प्रकाश सपूतकै अनुरोधलाई स्विकार्दै प्रहरीमा ती युवाविरुद्ध दिएको उजुरी फिर्ता लिने बताएका छन् ।
गत आईतबार राति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका थिए । ‘बोल माया’ गीत गाइरहँदा दर्शक दीर्घाबाट प्रहार गरिएको बोतल सपुतको अनुहारमै लागेको थियो । उनको नाकमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको थियो ।
मादक पदार्थ सेवन गरेका व्यक्तिले गायक सपुतमाथि बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिएका थिए ।