इन्डोनेसियाविरुद्ध नेपाल ७–० गोलले पराजित

न्युजलय ३२ जेठ २०७९, बुधबार ०१:०६ मा प्रकाशित

काठमाडौं । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा इन्डोनेसियाविरुद्ध नेपालले लगातार तेस्रो हारको सामना गरेको छ । समूह ‘ए’ मा रहेको नेपाली टोली तेस्रो हार बेहोर्ने क्रममा इन्डोनेसियाविरुद्ध ७–० गोल अन्तरले पराजित भयो ।


आज बिहान कुवेत सिटीमा सकिएको खेलमा इन्डोनेसियासामु नेपाली युवा टोली निरीह बन्यो । नेपालविरुद्ध इन्डोनेसियाले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा पाँच गोल थपेको थियो । इन्डोनेसियाका लागि मोहमद मिसजले छैटौं र विटन सुलेमानले ४३ मिनेटमा गोल गरेका थिए ।


दोस्रो हाफमा पनि नेपाललाई इन्डोनेसियाले पूरै दबाबमा राख्यो । दोस्रो हाफमा इन्डोनेसियाका लागि अर्यन्तोले ५४ मिनेटमा तेस्रो गोल र सदिल रामदानीले ५५ मिनेटमा चौथो गोल गरे ।


८० मिनेटमा इल्कन बग्गोटले पाँचौं गोल गर्दा ८१ मिनेटमा सुलेमानले टिमका लागि छैटौं र व्यक्तिगत दोस्रो गोल गरे । ९० मिनेटमा फर्डिनालले इन्डोनेसियाका लागि सातौं गोल गरे । यसअघि नेपालले जोर्डनसँग २–० र दोस्रो खेलमा आयोजक कुवेतसँग ४९१ गोलको हार बेहोरेको थियो । नेपाललाई हराउँदै इन्डोनेसिया ६ अंक जोडेर एसियन कपमा छनोट भएको छ ।