घोडेटार । नेपाल अर्बुद रोग निवारण संस्था भोजपुरको १९ औं जिल्ला सभा सम्पन्न भएको छ ।
शुक्रबार हतुवागढी गाउँपालिका–१ घोडेटार स्थित संस्थाको आफ्नै भवनमा सभा सम्पन्न गरिएको हो । सभा शाखाका सभापति ईश्वरबहादुर खड्काको अध्यक्षता एवम् संस्थाका सल्लाहकार समितिका संयोजक ईश्वरमान राईको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्वलन गरी सभाको उद्घाटन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले क्यान्सर रोगको चिकित्सक अभावको अवस्थामा पनि गाउँसम्म पुगेर संस्थाले रोगको निवारण सम्बन्धी सचेतना गराउने कार्य उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।
सभामा संस्थाका उपाध्यक्ष पुरुषोत्तम बस्नेतले वार्षिक प्रगति प्रतिवेदन र संस्थाका कोषाध्य सविता सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले क्यान्सर रोग रोकथाम र निदान दुबै प्रकारका जनचेतना अभिवृद्धी र निवारणका उपाय अवलम्वन सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रमका बीच नयाँ थप भएका आजीवन सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिएको संस्थाका सचिव तारानाथ पराजुलीले जानकारी दिए ।
सभामा हतुवागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश निरौला, वडा नम्बर १ का वडाध्यक्ष कुमार बिष्ट, प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारका प्रमुख डा. सिर्जना कटवाल, उद्योग वाणिज्य संघ घोडेटार अध्यक्ष हरी बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।