काठमाडौं । ऋणीलाई राहत दिने केही योजनाहरुसहित राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । केही राहत र प्रचलित ब्याजदरभन्दा कममा ओभरनाइट तरलता सुविधाको योजना सार्वजनिक गरेको हो ।
तोकिएको भाखा नाघेको एक महिनाभित्र ऋणीले साँवा–ब्याज भुक्तानी गरे बैंकले हर्जाना ब्याज लिज नपाउने, २ करोड रुपैयाँसम्मको कर्जा एक पटकका लागि पुनःसंरचना र पुनर्तालिकीकरण गर्न पाइने, ७ प्रतिशत ब्याजदरमा ओभरनाइट तरलता सुविधा उपलब्धलगायत व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
यो योजना आउँदो जेठ मसान्तसम्मका लागि लागु हुनेछ । यसअनुसार ऋणीले माघ मसान्तमा तिर्नुपर्ने साँवा–ब्याज फागुनसम्म, फागुनमा तिर्नुपर्ने चैतसम्म, चैतमा तिर्नुपर्ने वैशाखसम्म, वैशाखमा तिर्नुपर्ने जेठसम्म र जेठमा तिर्नुपर्ने असारसम्म भुक्तानी गर्नुपर्नेछ । यस्तो व्यवस्थाले व्यापार व्यवसायमा आएको मन्दीका कारण समयमा साँवा–ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई राहत पुग्ने राष्ट्र बैंकको दावी छ ।
यस्तै कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन भन्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार नीतिगत व्यवस्था गरिने राष्ट्र बैंकले घोषणा गरेको छ । निष्क्रिय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्नेलगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय अभ्यास लागु गरिनेछ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्बन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाइने घोषणा पनि गरेको छ ।