फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

न्युजलय २५ कार्तिक २०७८, बिहिबार ०३:०६ मा प्रकाशित

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 


नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढेको छ । ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।


अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको  निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।


त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।


मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू १७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर रू  ६५७.८४ घाटा छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।