इटहरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

न्युजलय ११ बैशाख २०८०, सोमबार ०८:१९ मा प्रकाशित

इटहरी । इटहरीमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । 

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा इटहरी रंगशालामा सोमबारदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । 

प्रतियोगिताको कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरे । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका १२ सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ । 

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन हुने प्रतियोगिताबाट छानिएका खेलाडीले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौंमा हुने केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट जम्मा ६ सय ५८ खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ । उक्त प्रतियोगितामा एथलेटिक्समा १ सय ५४, भलिबल र कबड्डीमा समान १ सय २६ तथा कराते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडीले भाग लिने छन् । 

जम्मा ५२ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता अन्तर्गत एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २, कराते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।