सुनसरी । युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी)लाई ३ —१ को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लब १५ औँ इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्न नसकेपनि दोस्रो हाफमा ६५ औँ मिनेटमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी)का खेलाडी हेमराज भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
मछिन्द्रले त्यसको ५ मिनेट पछि पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा पुर्याएको थियो । ओमोलाजा नुरेन हरिमले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए ।
७२ औँ मिनेटमा मछिन्द्रका मल्लिक बि युसुफले गोल गर्दै टिमलाई अग्रता दिलाए भने अतिरिक्त ४ मिनेटमा मल्लिक बि युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
विहिबार दोस्रो सेमिफाइनल खेल दुई पटकको इटहरी गोल्डकप विजेता सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरी बीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृती क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।