चिसो भेडेटारमा नयाँ आकर्षण : स्काइवाक टावर

न्युजलय ११ साउन २०८१, शुक्रबार ०९:१७ मा प्रकाशित

इटहरी । चिसो वातावरणमा रमाउन खोज्ने पुर्वी तराइ र भारतको बिहारका पर्यटकहरुले भेडेटारमा स्काइ वाकको सुविधा पाउने भएका छन् । स्काइ वाक गर्न मिल्ने टावर शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिले निर्माण गरेको उक्त टावरको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।


उक्त टावरको भुई सिसाले बनाइएको छ । जहाँ हिड्दा उचाइबाट हिडेको रोमान्चक अनुभुती पर्यटकहरुले गर्नेछन् । पुर्वको यो दोस्रो स्काइ वाक टावर हो । यसअघि कन्यममा समेत सञ्चालनमा आइसकेकोछ ।


कोशी प्रदेश सरकारको लगानी साझेदारीमा बनेको उक्त टावरको निर्माणले प्रदेशले मनाउन लागेको ‘पर्यटन वर्ष, २०८२’लाई सफल बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । भेडेटार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन बिकासमा प्रदेश सरकार लागेकोसमेत उनले बताए । 


धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले स्काइ वाक टावरको सञ्चालनले भेडेटारको मात्र नभई कोशी प्रदेशकै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।


धनरान र धनकुटाको सिमानामा अवस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ मा ११ रोपनी वन क्षेत्रफलमा रु २० करोड लगानीमा टावर निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाहाले जानकारी दिए । टावरका लगानी साझेदारको रुपमा इटहरीका व्यवशायी सुनिल भुषाल छन् । आगामी दिनमा  टावरमा बञ्जी जम्प, जीपलाइन र फ्रिफल जस्ता साहसिक खेल सञ्चालनमा ल्याइने उनले बताए ।