धरानका मेयर हर्क साम्पाङ आफ्नो अराजक हर्कतको कारण चर्चामा छन् । घमण्ड गर्ने, आलोचना पचाउन नसक्ने, 'कानुन मान्दिनँ, मै हुँ कानुन' भन्ने जस्ता अभिव्यक्ति दिने, विरोधीहरुलाई सामाजिक सञ्जालबाट हप्काउने, धम्क्याउने काम उनले गर्ने गरेका छन् ।
हालैमात्र पत्रकार गोपाल दाहाल र पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईविरुद्ध उनी सामाजिक सञ्जालमा विष वमन गरिरहेका छन् । र उनलाई सघाउँदैछन्, उनका फेक आइडीधारी समर्थकहरु ।
गोपाल दाहालले खोज पत्रकारिता केन्द्रको लागि लेखेको अनुसन्धानमुलक समाचारले साम्पाङले सादगीपनको आवरणमा बनाएको अराजकता, बेथिती र बद्मासीको महललाई भत्काइदिएको छ । खासगरी उनले माओवादी द्वन्दकालमा नक्कली माओवादी बनेर चन्दा उठाउन जाँदा माओवादीले नै समातेर कुटेको प्रसंग समाचारमा समेटिएपछि साम्पाङ आक्रोशित भएका हुन् ।
त्यसो त साम्पाङको मुख्य काम अहिले पनि चन्दा उठाउनु नै हो । मेयर भएयता उनले राज्यकोषलाई त्यती परिचालन गरेनन् होला, जति चन्दाको भरमा आफ्ना अस्थायी विकासका योजना कार्यान्वयन गरे । कहिले पानी ल्याउने नाममा त कहिले खोलामा पार्क बनाउने नाममा त कहिले सुम्निमा पारुहाङको मूर्ती बनाउने नाममा उनी चन्दा उठाइरहेका छन् ।
हजारौं दाताहरुबाट लिएको त्यस्तो चन्दाको हरहिसाब उनी सार्वजनिक गरेजस्तो त गर्छन्, तर त्यो विधिसम्मत अडिट गरिएको हुँदैन । सामाजिक कामहरुमा सामाजिक अडिट, वित्तीय अडिट गर्नुपर्छ । तर उनको यो कामको अडिट सामान्य कम्पनिको अडिटजस्तो हुने गरेको छ । त्यसमाथि जनश्रमदानमा जनताको श्रमदान निःशुल्क हुनुपर्छ । तर उनले पारिश्रमिक बाँडेको खर्च विवरणमै देखाएका छन् । इमान्दारिताको जतिसुकै ढोङ फुकेपनि त्यो विधि र प्रक्रियाबाट बाहिर जाने बित्तिकै शंकास्पद हुन्छ ।
उनको अपारदर्शीताकै कारण धेरै सहयोगदाताहरुले फेरी फेरी सहयोग गर्ने इच्छा देखाएका छैनन् । घट्दो आर्थिक संकलनकै कारण उनी बेलायत जान हतारिए । अघिल्ला वर्षहरुमा विदेश जान नभ्याउने उनी अहिले विदेश जान रुची देखाइरहेका छन् ।
साम्पाङको सादगीपन देखाएर भित्र गरिरहेको हर्कत आर्थिक अपारदर्शीतामा मात्र सिमित छैन, सामाजिक रुपमा समेत घातक छ ।
साम्पाङको कारण धरानको सामाजिक सद्भाव पनि एक हदसम्म खल्बलिएको छ । झन् केही महिनाअघि त भीडन्तकै माहोल बनेको थियो । सद्भाव कायम राख्नुपर्ने तहमा रहेको व्यक्ति उल्टै असभ्य र अराजक तरिकाले पस्तुत हुँदा त्यसले उनीजस्तै अराजकतावादी मानसिकता भएकाहरुलाई बल मिलेको प्रष्ट देखिन्छ । त्यसैले उनीहरु गाली गलौजमा उत्रिन्छन् ।
सामाजिक सञ्जालमार्फत् लागी गलौज गर्नु र अराजक अभिव्यक्तिहरु दिनु सामाजिक रुपमा त दण्डनीय छ नै, कानुनीरुपमासमेत अपराधजन्य छ । पछिल्लो समय उजुरी पछि प्रहरीले केही समर्थकहरुलाई पक्राउ गरेर माफि मगाएर छाडिदिएको थियो । त्यसपछि फेक आइडीहरुबाट यस्ता अश्लील गालीहरु हर्कका आलोचकहरुले पाइरहेका छन् । उनका पोस्टमा गरिएका सभ्य आलोचनात्मक कमेन्टहरुमा पनि उनका समर्थकहरु अश्लिल र असभ्य प्रतिक्रिया दिन्छन् ।
कुनैपनि दलका नेता हुन् वा सामाजिक जिम्मेवारी बोकेका व्यक्तिहरु, उनीहरुको आलोचना गर्दा पहिले कहिल्यै तल्लो स्तरको गाली गलौज हुँदैनथ्यो । एक तरिकाले भन्दा साम्पाङकै कारण सामाजिक सञ्जाल विषाक्त बनेको छ ।
आलोचना वा विरोध गर्दा वा असहमती राख्दा सभ्य भएर तर्कसंगत तरिकाले राख्न सकिन्छ । तर उनका समर्थकहरु त्यस्तो गर्दैनन् । अश्लिलता, अराजकता र असभ्यपनमा साम्पाङका समर्थकहरुले सबै रेकर्ड तोडेका छन् । नेताहरुले सभ्य आलोचना सहन सक्नुपर्छ । समाचार चित्त नबुझे खण्डन गर्ने प्रक्रिया छ । आलोचना गर्दा पनि सभ्य ढंगले गर्दा हुन्छ । तर यो कुराको बोध न उनलाई छ, न त उनका समर्थकहरुलाई नै । उनको लागि प्रक्रिया, नीति, नियम, विधि, पद्धतीको कुनै मूल्य छैन ।
सामाजिक सञ्जालमा मच्चिरहेको अराजकता र अश्लिल अनि असभ्य टिप्पणीहरु रोक्न प्रहरी प्रशासन कम्तिमा एक पटक गम्भीरतापूर्वक अग्रसर हुनुपर्ने देखिन्छ । ताकि असभ्य, अश्लिल गाली गलौज र टिप्पणी गर्नेहरुको मनोबल घटोस् ।