इटहरी । इटहरीमा पूर्वमै पहिलो पटक विश्वप्रसिद्ध चेन होटलको सेवा विस्तार हुने भएको छ ।
विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ को मातृ कम्पनि विंडहाम होटलस् एण्ड रिसोर्टले इटहरी ९ मा निर्माणाधिन पाँच तारे होटलको व्यवस्थापन हेर्ने भएको हो । होटल रमडा नाममा सञ्चालनमा आउनेछ ।
निर्माणाधिन उक्त होटलका सञ्चालक इटहरीका व्यवशायी देशबन्धु बस्नेत र रमडा ब्राण्डको संस्थापक कम्पनि विंडहाम होटल्स् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माबिच शुक्रबार दिल्लीमा सोसम्बन्धि सम्झौता भएको हो । यो सम्झौतालाई इटहरीको व्यवशायीक विकासमा कोशेढुंगा मानिएको छ ।
सम्झौतापछि बोल्दै बस्नेतले नेपाल, त्यसमाथि पनि पुर्वी नेपालको पर्यटन प्रबद्र्धन र होटल व्यवशायको प्रबद्र्धनमा नयाँ खुड्किलो भएको बताएका छन् । उनले रमडा ब्राण्डसँग आफ्नो होटललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले विंडहाम होटेल्स कम्पनिसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने जनाएका छन् ।
कार्यक्रममा बोल्दै विंडहाम होटलस्का प्रतिनिधि शर्मालेसमेत नेपालमा आफ्नो ब्राण्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकहरुलाई विश्वस्तरीय आतिथ्यता दिने बताएका छन् ।
यस्तो हुनेछ होटल
निर्माणाधिन पाँच तारे उक्त होटलमा कुल ८ तला छन् भने ८० वटा कोठा रहेका छन् । २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुल आदि सेवा रहनेछन् । होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागिसमेत कोठाहरु व्यवस्थापन गरिनेछन् ।
भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरुलाई विश्वस्तरीय होटलको सुविधा दिने दावी गरिएको छ । पुर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवशायीहरुलाई आरामदायी र सुरक्षित आवासका साथै व्यवशायीक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्नेछ ।
होटलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ ।
के हो रमडा ?
विंडहाम होटल्स एण्ड रिसोट्र्सलाई विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटल कम्पनि मानिन्छ । यो अमेरिकी कम्पनिले ९५ देशका ९ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ । एसियामै मात्र पनि २० वटा देशका १ हजार ६ सय बढी होटल सञ्चालनमा ल्याएको छ ।
होटल व्यवशायमा अघि बढ्दै बस्नेत
इटहरीमा जन्मेर काठमाडौलाई कर्मथलो बनाएका बस्नेत देशका विभिन्न भागमा विभिन्न व्यवशायीक परियोजनाहरुमा लगानी विस्तार गरिरहेका छन् । पितापुर्खाले थालेको ईँटा तथा काठ उद्योगबाट अघि बढेका बस्नेतले नेपालमा एक पछि अर्को स्टार तथा अन्तर्राष्ट्रिय स्तरका होटल तथा रिसोर्ट संचालनमा ल्याइरहेका छन् ।
उनले हालै मात्र काठमाडौमा निर्माणाधिन पाँच तारे होटलमा एक्कोर समुहको मक्र्योर ब्राण्ड भित्राएका थिए । नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका उनी अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतीको रुपमा नेपालको पर्यटन विकासमा व्यवशायीहरुको संस्थागत नेतृत्व गरिरहेका छन् ।
यस्तै उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट संचालनमा ल्याउन लागेका छन् ।
पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।